• ३० फागुन २०८२, शनिबार

स्मृतिमा भीमनिधि

blog

युवादित्य निधि तिवारी

पैसा तिर्नुपरे औषधी पनि नखाने

सित्तैमा पाए विष पनि खाने

हाम्रो समाजमा यस्ता मान्छे पनि छन्

भ्रमणभत्ता पाइन्छ भने नरक पनि जाने

शब्द छोटो तर ध्रुवसत्य । साहित्यको संसारमा केही नाम यस्ता हुन्छन्, जसलाई सम्झँदा कुनै ठुलो हलचल होइन, बरु एउटा शान्त प्रकाश मनमा फैलिन्छ । भीमनिधि तिवारी, एक त्यस्तै व्यक्तित्व । उनको स्मरण गर्दा यस्तो लाग्छ– मानौँ, नेपाली साहित्यको आँगनमा कुनै शान्त वृक्ष उभिएको छ, जसको छायामा धेरै पुस्ताले आश्रय लिएका छन् ।

कहिलेकाहीँ इतिहासलाई बुझ्न धेरै ठुलो आवाजको आवश्यक पर्दैन । केही व्यक्ति यस्ता हुन्छन् जसको प्रभाव घोषणामा होइन, शान्त आचरण र गहिरो चिन्तनमा देखिन्छ । भीमनिधि तिवारी पनि यस्तै व्यक्तित्व थिए जसलाई केवल उनका कृतिबाट मात्र होइन, उनको व्यवहार, विचार र जीवनशैलीबाट बुझ्न सकिन्छ । एक अत्यन्तै प्रभावशाली र साहित्यिक व्यक्तित्व भीमनिधि तिवारीको ११४ औँ जन्मजयन्तीका अवसरमा हामी स्मरण गर्दै छौँ, जसको लेखन परम्परागत मूल्यमान्यता र नेपाली समाजको दर्पण जस्तै बनेको छ ।

उनका लेखरचना पढ्दा पाठकलाई यस्तो अनुभूति हुन्छ– मानौँ, कसैले आफ्नै मनको कुरा सरल शब्दमा भनिरहेको छ । यही नै उनको लेखनको विशेषता हो । उनले कठिन विषयलाई पनि सहज भाषामा प्रस्तुत गर्न सक्थे । त्यसैले उनका शब्द केवल साहित्यिक प्रयोग मात्र होइन, जीवनको अनुभव पनि बनेका छन् ।

विसं १९६८ फागुन ३० गते काठमाडौँको डिल्लीबजारस्थित तिवारीटोलमा जन्मिएका भीमनिधि तिवारीलाई हामीले प्रत्यक्ष रूपमा भेट्न नसके पनि उनको जीवन, चिन्तन र सिर्जनशील व्यक्तित्वका विविध आयाम परिवारजन तथा अग्रजबाट सुनिएका संस्मरण, कथन र अनुभवका माध्यमबाट हाम्रो मानसपटलमा सधैँ जीवन्त र स्पन्दित रहँदै आएका छन् । उनका वास्तविक परिचय केवल साहित्यिक कृतिमा सीमित थिएन । उनी चरित्र, अनुशासन र दैनिक चेतनाको प्रतिनिधित्व गर्ने व्यक्तित्व पनि थिए । कहिलेकाहीँ केही व्यक्तिलाई सम्झँदा इतिहासको भारी होइन, एउटा शान्त अनुभूति मनमा आउँछ । भीमनिधिलाई सम्झँदा पनि यस्तै अनुभूति हुन्छ । उनको स्मरण गर्दा मनमा सधैँ एउटा सादा दृश्य उभिन्छ, काठको टेबल, टेबलमाथि केही पुस्तक, एउटा मसीदानी, झ्यालबाट छिर्ने हल्का उज्यालो, त्यो कोठामा ठुलो हलचल छैन तर विचार निरन्तर बगिरहेका छन् । त्यही सुमधुर वातावरणमा एक लेखक शब्दसँग संवाद गरिरहेका छन् ।् कहिले केही लेख्छन्, केहीबेर रोकिन्छन्, फेरि अर्को वाक्य थप्छन्– मानौँ, शब्दलाई पनि सोच्ने समय दिइरहेको हुन्छ । यही धैर्य, संवेदनशीलता र मौन चिन्तनले उनको साहित्यिक जीवनलाई आकार दिएको देखिन्छ । संस्कृतविद् प्राज्ञ डा. जगमान गुरुङले एक प्रसङ्गमा भीमनिधि तिवारीका रचनाले सामाजिक अनुभूति र मानवीय सम्बन्धलाई सहज भाषामा प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ । यो टिप्पणी केवल प्रशंसा मात्र होइन, उनको साहित्यिक यात्राको सार पनि हो ।

कोसित मलाई के वास्ता, एउटा कलम भए पुग्छ ।

वर्तमानसँग तिमी नै खेल, मलाई भविष्य भए पुग्छ ।

सानो भए पनि, थोरै भए पनि, काम गर्नु पर्छ ।

अरू केही चाहिँदैन, पुषको घाम भए पुग्छ ।

यी शब्दहरू, उनका ‘सन्तोष’ कविताका शब्दहरू मात्रै हैनन्, यी उनका व्यक्तित्वलाई झल्काउने ऐना हुन् । उनको असल एवं प्रभामय स्वरूप बुझ्न खोज्दा सबैभन्दा पहिले देखिने कुरा हो, सादगी । त्यो सादगी बाहिरी व्यवहारमा मात्र होइन, उनको लेखनमा पनि स्पष्ट देखिन्छ । उनका शब्दहरू अनावश्यक अलङ्कारले भरिएका हुँदैनथे तर त्यसभित्र जीवनको गहिरो अनुभूति लुकेको हुन्थ्यो । उनले शब्दलाई सजाउनुभन्दा अर्थपूर्ण बनाउन बढी महत्व दिएका जस्तो लाग्छ ।

उनको स्मरण गर्दा यस्तो लाग्छ– मानौँ, नेपाली साहित्यको एउटा युगलाई सम्झिरहेका छौँ । त्यो युग, जहाँ शब्दहरू केवल मनोरञ्जनका लागि मात्र होइन, समाजलाई बुझ्ने माध्यम पनि थिए । उनले साहित्यलाई जीवनसँग जोडेर हेर्ने दृष्टि दिएका छन् । आजका पाठकका लागि पनि भीमनिधि तिवारीको स्मरण अर्थपूर्ण छ । किनकि उनका रचनामा पाइने मानवीयता, सरलता र संवेदनशीलता आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका शब्दहरूले समयको दुरी पार गरेर नयाँ पुस्तासँग संवाद गर्न सक्छन् ।

समयसँगै बुझ्न सकिने अर्को कुरा के हो भने भीमनिधि तिवारीका शब्द केवल व्यक्तिगत अनुभूतिमा सीमित छैनन् । उनी समाजसँग पनि गहिरो रूपमा जोडिएका थिए । उनका कथामा र नाटकमा समाजका अनेक पक्ष देखिन्छन् । त्यो समयको समाजको यस्ता विषयलाई साहित्यमा ल्याउनु आफैँमा साहसिक थियो । उनका लेखहरू चेतना, सुधार र चरित्र निर्माण साधनका अमूल्य स्रोत थिए । भीमनिधि तिवारी केवल कविता र कथा लेख्ने मात्र थिएनन् । उनी नाटकमार्फत पनि सामाजिक संवाद स्थापना गर्न सफल थिए । उनका विभिन्न विधामा उत्कृष्टता नै उनको अध्ययनशीलताको प्रतीक थियो ।  भीमनिधि तिवारी जस्ता लेखक समाजका मौन शिक्षक हुन्छन् । उनका शब्दले ठुलो आवाजमा उपदेश दिँदैनन् तर उनका रचनाले पाठकलाई सोच्न प्रेरित गर्छन् । उनका शब्दले पाठकलाई जीवनका साना साना पक्षमा पनि अर्थ खोज्न सिकाउँछन् । समय बित्दै जाँदा धेरै कुरा परिवर्तन हुन्छ । नयाँ लेखक आउँछन्, नयाँ विचारहरू जन्मिन्छन् । साहित्यको इतिहासमा केही नाम स्थायी रूपमा बसिरहन्छन् । भीमनिधि तिवारी पनि त्यस्तै नाम हुन् । उनको योगदान केवल एक समयको उपलब्धि होइन, त्यो निरन्तर स्मरण भइरहने साहित्यिक धरोहर हो ।

नेपाली साहित्यमा हरेक वर्ष कुनै न कुनै किताब प्रकाशित गर्ने लेखक भीमनिधि तिवारी नै थिए तर गम्भीर विडम्बना यस प्रकार छ कि हामी अनगन्ती नेपाली उनका कविता, उपन्यास र नाटक पढेर हुर्किएर पनि हामीमाथि नै आफैँ एउटा गम्भीर प्रश्न उठ्छ, के हामी यस्तो दिग्गज व्यक्तित्वलाई उचित सम्मान दिन सकिरहेका छौँ ? आज जब भीमनिधि तिवारीको जन्मजयन्तीमा उनलाई केवल एक लेखक, कवि या नाटककार मात्र नभएर उनका समाज सुधारक, मानवीय संवेदना र सामाजिक चेतनाका अमूल्य धारणालाई समेत स्मरण गर्दै छौँ । साहित्यबाटै पनि चरित्र निर्माण गर्न सकिन्छ र चरित्रले समाज र राष्ट्रनिर्माण गर्न सकिन्छ भन्ने अमूल्य प्रेरणा उनका साहित्यबाट बुझिन्छ । नेपालको सर्वकालीन महान् साहित्यिक र नैतिक व्यक्तित्वमध्ये एक भीमनिधि तिवारी साहित्यकार एवं जनप्रशासक तथा नैतिकता र राष्ट्रप्रेममा विश्वास गर्ने प्रत्येक नेपालीका लागि अनमोल प्रेरणाका स्रोत मानिन्छ । उनको जीवन र साहित्यले हामीलाई सम्झाउँछ कि नैतिकताले चरित्र बनाउँछ, चरित्रले समाज बनाउँछ र समाजले राष्ट्रनिर्माण हुन्छ ।

पद पाएको मान्छे, मद खाएको जस्तो हुन्छ 

केवल शब्द र इतिहासमा होइन, उहाँको कविताको एउटा पङ्क्ति आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ । आजको परिवेशलाई हेर्दा यो पङ्क्ति अझ गहिरो अर्थपूर्ण लाग्छ । शक्ति र पदलाई प्राप्त भएपछि केही व्यक्ति उन्मत्त हुने, सत्ता र अर्थोपार्जनको मोहमा पर्ने प्रवृत्ति समाजमा देखिन्छ तर यो सबैमा लागु हुन्छ भन्ने होइन । इमानदार र जिम्मेवार व्यक्ति पनि छन् । यद्यपि समाजले यस्तो चरित्रको पीडा भोगिरहेको यथार्थ हामी सबैले महसुस गरेका छौँ । 

तसर्थ जब हामी उनलाई सम्झन्छौँ, तब हामी केवल एउटा नामलाई सम्झिरहेका हुँदैनौँ । हामी नेपाली साहित्यको एउटा उज्यालो परम्परालाई पनि सम्झिरहेका हुन्छौँ, जसले शब्दलाई जीवनसँग जोडेर हेर्न सिकाएको छ ।