• ३० फागुन २०८२, शनिबार

प्रतिबद्धता पूरा गर्न दृढतापूर्वक लाग्ने छु’

blog

विजयकुमार साह 

ढल्केबर, फागुन  ३० गते  । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका राजकिशोर महतोले निर्वाचनअघि मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न दृढताका साथ लागिपर्ने बताउनुभएको छ । उहाँले मधेशमा देखिएको शिक्षा र स्वास्थ्यको कमजोर अवस्था, समस्यै समस्याले झेलिएको कृषि व्यवसाय र बढ्दो बेरोजगारीलाई प्रमुख समस्याका रूपमा बुझेर आगामी दिनमा ती विषयमा सुधार गर्न आफू लागिपर्ने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “यस क्षेत्रका लागि गर्नुपर्ने सयौँ काम छन् । प्राथमिकता केलाई दिने भन्ने नै समस्या छ । त्यसैले स्थानीयको आधारभूत आवश्यकता पूरा गर्दै शिक्षा, स्वास्थ्य, कृषिलाई सुधार्दै दीर्घकालीन विकासका कामलाई ध्यान दिनेछु ।”

महतोले निर्वाचन अभियानका क्रममा यस क्षेत्रका अधिकांश गाउँ र टोलमा पुगेर आफूले स्थानीय समस्या र आवश्यकताबारे जानकारी लिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आगामी दिनमा ती मतदाताको माग र आवश्यकता अनुसार नै काम गर्ने छु । घरदैलो अभियानका व्रmममा नागरिकले सडक, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्यको सुधार हुुनुपर्ने माग गरेका छन् ।”

उहाँले यस क्षेत्रमा किसानले बाँदर, बँदेल र नीलगाईलगायतका वन्यजन्तुबाट हैरान भएकाले त्यसको वैज्ञानिक व्यवस्थापन गर्ने, नदीनालाबाट हुने गरेको अवैध उत्खनन र त्यसले सिर्जना गर्ने समस्याको निवारण गर्न उचित कानुनी संयन्त्रको विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । 

महतोले मधेशका ग्रामीण क्षेत्रमा सम्भावनामा आधारित कार्यव्रmम सञ्चालन गर्न गराउन विशेष भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । शिक्षण पेसाबाट सुरु भएको महतोको सामाजिक जीवनयात्रा सामाजिक सेवा, व्यवसाय हुँदै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा राजनीतिकतर्फ मोडिएको छ । 

धनुषाको बटेश्वर गाउँपालिका–३ निवासी ५१ वर्षीय महतो व्यवस्थापन विषयमा स्नातक हुनुहुन्छ । उहाँले सोलुखुम्बुको गोलीमा रहेको बुद्ध माध्यमिक विद्यालयमा करिब छ वर्ष अध्यापन गर्नुभयो । त्यसपछि चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यवसायमा प्रवेश गर्दै १० वर्ष मेडिकल सेल्स अफिसर (एमआर) का रूपमा काम गर्नुभयो । पछिल्लो समय उहाँ वेभ फर्मा केमिकल्स प्रालिका प्रबन्ध निर्देशकको जिम्मेवारी पूरा गर्दागर्दै सामाजिक सेवामा पनि सव्रिmय रहँदै आउनुभएको थियो । उहाँ कविर फाउन्डेसन नेपालका अध्यक्षको जिम्मेवारीमा पनि हुुनुहुन्छ । 

महतोले २०७४ सालको आमनिर्वाचनमा जनता समाजवादी पार्टीबाट धनुषा–४ को प्रदेश सभा ‘ख’ मा उम्मेदवारी दिनुभएको थियो । त्यसबेला उहाँ करिब आठ हजारभन्दा बढी मत प्राप्त गर्नुभएको भए पनि पराजित हुनुभएको थियो । पछिल्लो समय महतो राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तथा प्रचारप्रसार विभागका केन्द्रीय सदस्यसमेत रहनुभएको थियो ।