• ३० फागुन २०८२, शनिबार

स्थानीय तहमै रोजगारीको विकल्प खोजिन्छ

blog

गोकर्ण दयाल 

बैतडी, फागुन ३० गते । पछिल्लो समय नेकपा (एमाले) र नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले मतदाताको मन जितेपछि उहाँको संसदीय यात्रा सुरु भएको छ । भण्डारीले २२ हजार १३४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाउनुभयो । 

विसं २०२३ माघ १५ गते बैतडीको तत्कालीन पाटन आदर्श गाउँ पञ्चायतमा जन्मनुभएका पाटन नगरपालिका–६, निवासी भण्डारीको प्रारम्भिक शिक्षा पाटनकै पन्त्यौडा प्राविबाट सुरु भएको थियो । श्रीकृष्ण मावि पाटनबाट एसएलसी उतीर्ण गरेपछि उहाँ उच्च शिक्षाका लागि उहाँ काठमाडौँ पुग्नुभयो । उहाँले रत्नराज्य लक्ष्मी क्याम्पसबाट २०४६ सालमा स्नातक तहको अध्ययन पूरा गर्नुभयो । 

 बुवा लक्ष्मणसिंह भण्डारी पाटन आदर्श गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै २०४३ सालमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यसमेत भएकाले उहाँले परिवारमै राजनीतिक माहोल पाउनुभयो । वर्तमान सुशीला कार्की सरकारको मन्त्रीपरिषद्मा श्रममन्त्री बन्नुभएका राजेन्द्रसिंह भण्डारी हरिमोहन भण्डारीकै सहोदर दाइ हुनुहुन्छ । शिक्षित र राजनीतिक पारिवारिक पृष्ठभूमिबाट उदाउनुभएका भण्डारीले राप्रपाबाट रानीतिक सुरुवात गरे पनि लामो समय उहाँ कांग्रेसमा सक्रिय रहनुभयो । २०५८ सालमा कांग्रेसको क्रियाशील सदस्य बन्नुभएका भण्डारी पार्टीको महासमिति सदस्य हुँदै करिब २३ वर्ष कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएको थियो । भण्डारी निर्माण व्यवसाय र घरजग्गाको काममा समेत सक्रिय हुनुहुन्छ ।

यसअघि कांग्रेसबाट २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेर पराजित हुनुभएका उहाँ २०७९ सालको प्रदेश सभा निर्वाचनमा पनि आकाङ्क्षी हुनुहुन्थ्यो तर पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । सो निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बढी मत उहाँले ल्याउनुभएको थियो । 

निर्वाचित भएपछि गोरखापत्र समाचारदातासँग कुरा गर्दै उहाँले रित्तिँदै गएको पहाडी जिल्ला बैतडीको भविष्यबारेमा चिन्तन गरिरहेको बताउँदै भन्नुभयो, “मत माग्न करिब तीन महिनाभन्दा बढी गाउँका कुनाकन्दरामा पुग्दा बस्ती रित्तिँदै गएको, राजनीतिक पहुँचमा भ्रष्टाचार मौलाएको, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी नभएको र बसाइँसराइले पहाडी खाली हुँदै गएको पाए । यो कसरी रोक्न सकिन्छ ? मेरो चिन्तन यही विषयमा हुन्छ ।” 

उहाँले जिल्लाको गरिबी घटाउन स्थानीय तहमै रोजगारीको विकल्प खोज्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय तथ्याङ्क कार्यालयको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी जिल्ला देशका १० गरिब जिल्ला र १० वटा गरिब स्थानीय तहको सूचीमा रहेको छ । 

बैतडी जिल्ला गरिब जिल्लाको सूचीमा परेको भए पनि यहाँको सिगास गाउँपालिका–१ र पुर्चौडी नगरपालिकामा फलाम खानी, दागेडाकेदार गाउँपालिकामा फस्पोराइट खानी रहेको छ । यहाँ खानी तथा भूगर्भविभागले फस्पोराइट उत्खननका लागि विस्तृत अध्ययन गरे पनि उद्योग सञ्चालन हुन सकेको छैन । प्रतिनिधि सभा सदस्य भण्डारीले फलाम खानी सञ्चालन गर्न, दशरथचन्द नगरपालिकाको ग्वाल्लेक र सिगास संरक्षित क्षेत्रमा जडीबुटी र झुलाघाटको मौरा भिरमा शिलाजित खानी र डिलासैनी गाउँपालिका छोएर बग्ने चेमेलिया नदीमा सुन तथा युरेनियमको उपयोगका लागि पहल गर्ने पनि बताउनुभयो । 

यसै गरी उहाँले शिक्षक राजनीतिक दलको भातृ सङ्गठन जस्तै बनेकाले शिक्षकका दलीय सङ्गठन खारेज गर्नुपर्ने मागलाई नीतिगत व्यवस्थाभित्र प्रवेश गराएर शैक्षिक गुणस्तरका लागि काम गर्ने भण्डारीले अठोट व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “आधारभूत तहको शिक्षा स्थानीय तहले हेर्ने र माध्यमिक शिक्षा सङ्घ सरकारले जिम्मेवारी लिने गरी काम गर्नुपर्ने जनताको चाहना रहेकाले सोही अनुसार नीति बनाउन पहल गर्ने छु । सबैभन्दा पहिले शिक्षकका दलीय सङ्गठन खारेज हुनुपर्ने माग राख्छु ।”