• ३० फागुन २०८२, शनिबार

सप्तरीमा किसानलाई चैते धान रोपाइँको चटारो

blog

सप्तरीका महिलाहरू चैते धान रोपाइँका लागि बीउ उखेल्दै। तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), फागुन ३० गते ।
सप्तरीमा यतिबेला चैते धान रोपाइँ सुरु भएको छ। किसानलाई चैते धान रोप्ने चटारो बढेसँगै बिहानदेखि महिलाहरू धान रोप्न व्यस्त देखिएका छन्।

अत्यधिक पानीमा उत्पादन हुने चैते धान यसपालि वर्षा नपरेकाले सिँचाइ पुगेका खेतीयोग्य जमिनमा नदी, पोखरी, बोरिङ र मोटरमार्फत पानी पटाएर रोपाइँ भइरहेको जिल्लाको विष्णुपुर गाउँपालिका–६ की चुलिया देवी रायले बताउनुभयो।

उहाँका अनुसार जिल्लाको सीमित क्षेत्रमा मात्रै चैते धान उत्पादन हुने गरे पनि यस वर्ष पानी नपरेकाले रोपाइँ केही ढिलो भएको हो। पर्याप्त पानी भएको खेतमा राम्रो उत्पादन हुने भएकाले यहाँका किसानमा चैते धानप्रति आकर्षण बढ्दै गएको छ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार विभिन्न पालिकामा किसानका लागि खेतमै बिजुली पु¥याएर बोरिङ र स्यालो ट्युबवेल उपलब्ध गराइएपछि सिँचाइ सुविधा सहज बन्दै गएको छ। यसले चैते धान उत्पादन गर्न सजिलो भएपछि किसानहरूमा यसको आकर्षण बढेको उहाँले बताउनुभयो।

उहाँका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय हेक्टर खेतीयोग्य जमिनमा चैते धान उत्पादन हुँदै आएको छ। फागुनको अन्तिम सातादेखि रोपाइँ सुरु भई चैतभरि रोपाइँ चल्ने र जेठ–असारमा धान कटाइ हुने उहाँले जानकारी दिनुभयो। यसपालि नहरमा पानी नआएकाले नहर प्रणाली बन्द हुँदा सिँचाइमा केही समस्या देखिएको पनि उहाँले बताउनुभयो।

जिल्लाका १८ स्थानीय तहमध्ये विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजगढ गाउँपालिका, रूपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बोदे बरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका र खडक नगरपालिकामा चैते धान रोपाइँ भइरहेको छ।