जहाँ जुनकिरीहरू दसैँ बोलाउँछन्
र डाङ्ग्रेहरू साँझको सङ्केत गर्छन्
यो मेरो देश हो ।
जहाँ कुहिरोले पहाडसँग लुकामारी खेल्छ
र हिमालले तिनलाई मुस्कुराउँदै हेर्छ
यो मेरो देश हो ।
जहाँ नदीहरू गीत गाउँदै छङ छङ बग्छन्
र कोइलीको कुहु कुहुले वसन्त जगाउँछन्
यो मेरो देश हो ।
जहाँ कैलाश निवासीले
हिमालयकी छोरीलाई आँखा झिम्क्याउँदा,
सृष्टिको पहिलो बिहानी सुरु हुन्छ ।
यो मेरो देश हो ।
...हो,
यो ‘कृष्ण’ को जन्मथलो हो
र उनको बाल्यकालको खेल्ने खलो हो ।
उनी हुर्के यहीँ, रमे र घुमे यहीँ
र यही शोणितपुरमा पखेटा हाले
र क¥याङकुरुङसँग लय मिलाउँदै
रुसमा नेपाली साहित्यको दियो बाले ।
कृष्ण साइबेरियन चरा झैँ
भुर्र दुरदेश रुस उडे
हिउँमा खेल्दै, अनेक बहाना झेल्दै
जिन्दगी रेलका लिकहरूमा गुडे ।
उनको अनुवादको झ्यालबाट
हामीले सोभियत संसारलाई हे¥यौँ,
टोल्सटोय, सोलोखोभ, रसुल, तुर्गेनेभ
गोर्की र पुस्किनको दर्शन ग¥यौँ ।
सोभियत संसार र नेपाली जनता,
कृष्ण सबैलाई जोड्ने पुल हो
संस्कृति र साहित्यका संवाहक दूत
उनी सबैलाई बाँध्ने मूल हो ।
भ्लादिभस्तोक होस् वा अन्तुडाँडा
पृथ्वी घुम्छ र चन्द्र सूर्य चम्किन्छ
हरेक पल दिन रातमा
र रात दिनतर्फ लम्किन्छ ।
हिउँमा सिर्जनाको गुँड हाल्ने
कृष्ण, तिमी सधैँ हाम्रो यादमा रहिरहन्छौ
र ‘वसुधैव कुटुम्बकम्’ को भाका हाल्दै
विश्व भ्रातृत्वको यात्रामा अनन्त बहन्छौँ ।