• ३० फागुन २०८२, शनिबार

सम्झनामा कृष्णप्रकाश श्रेष्ठ (कविता)

blog

जहाँ जुनकिरीहरू दसैँ बोलाउँछन्

र डाङ्ग्रेहरू साँझको सङ्केत गर्छन्

यो मेरो देश हो ।

जहाँ कुहिरोले पहाडसँग लुकामारी खेल्छ

र हिमालले तिनलाई मुस्कुराउँदै हेर्छ 

यो मेरो देश हो ।

जहाँ नदीहरू गीत गाउँदै छङ छङ बग्छन्

र कोइलीको कुहु कुहुले वसन्त जगाउँछन्

यो मेरो देश हो ।

जहाँ कैलाश निवासीले

हिमालयकी छोरीलाई आँखा झिम्क्याउँदा,

सृष्टिको पहिलो बिहानी सुरु हुन्छ ।

यो मेरो देश हो ।

...हो,

यो ‘कृष्ण’ को जन्मथलो हो

र उनको बाल्यकालको खेल्ने खलो हो ।

उनी हुर्के यहीँ, रमे र घुमे यहीँ

र यही शोणितपुरमा पखेटा हाले 

र क¥याङकुरुङसँग लय मिलाउँदै

रुसमा नेपाली साहित्यको दियो बाले ।

कृष्ण साइबेरियन चरा झैँ 

भुर्र दुरदेश रुस उडे 

हिउँमा खेल्दै, अनेक बहाना झेल्दै

जिन्दगी रेलका लिकहरूमा गुडे ।

उनको अनुवादको झ्यालबाट

हामीले सोभियत संसारलाई हे¥यौँ,

टोल्सटोय, सोलोखोभ, रसुल, तुर्गेनेभ

गोर्की र पुस्किनको दर्शन ग¥यौँ ।

सोभियत संसार र नेपाली जनता,

कृष्ण सबैलाई जोड्ने पुल हो

संस्कृति र साहित्यका संवाहक दूत

उनी सबैलाई बाँध्ने मूल हो ।

भ्लादिभस्तोक होस् वा अन्तुडाँडा

पृथ्वी घुम्छ र चन्द्र सूर्य चम्किन्छ

हरेक पल दिन रातमा 

र रात दिनतर्फ लम्किन्छ ।

हिउँमा सिर्जनाको गुँड हाल्ने

कृष्ण, तिमी सधैँ हाम्रो यादमा रहिरहन्छौ

र ‘वसुधैव कुटुम्बकम्’ को भाका हाल्दै

विश्व भ्रातृत्वको यात्रामा अनन्त बहन्छौँ ।