• ३० फागुन २०८२, शनिबार

सैनिक कर्मचारीद्वारा विद्यालयमा अध्यक्ष कोष स्थापना

blog

अध्यक्ष कोषको रकम विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेललाई प्रदान गर्नुहुँदै पवन बजगाईँ ।

साहारा लिम्बू 
फुङलिङ, फागुन ३० गते ।
ताप्लेजुङको भानु जन माध्यमिक विद्यालय अम्बिटारमा अध्यक्ष कोष स्थापना गरिएको छ । नेपाली सेनाको दुर्गादल गुल्म ताप्लेजुङमा कार्यरत एक सैनिक कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा उक्त विद्यालयमा ५५ हजार ५५५ रुपियाँ अक्षय कोष स्थापना गरिदिनुभएको हो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ पिप्ले घर भई अहिले दुर्गादल गुल्ममा कार्यरत पवन बजगाईँले विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको व्याजबाट हरेक वर्ष एक जना विद्यार्थीलाई कम्तीमा पाँच हजार रुपियाँ बराबरको शैक्षिक सामग्री वा नगदै रकम प्रदान गरिने छ ।

पेन्सन हुने अवधिसम्ममा यो रकमलाई वृद्धि गरेर एक लाख सात हजार ७७७ रुपियाँ बनाउने बजगाईँले बताउनुभयो । ब्याज रकम पाँच हजार नपुगे बजगाईँले थप गरिदिने प्रतिबद्धता जनाएको प्याकुरेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष युगराज गुरुङले बजगाईँलाई धन्यवाद ज्ञापन गर्नुभयो । हरेक वर्ष वसन्त पञ्चमीका दिन छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।