• ३० फागुन २०८२, शनिबार

‘वाचापत्र अनुसार नै काम गर्छु’

blog

बबई समाचारदाता

बबई (बर्दिया), फागुन ३० गते । बर्दियाको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्रीधर पोखरेलले निर्वाचनका क्रममा सार्वजनिक गरिएको वाचापत्र अनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मतदाताले परिवर्तन, सुशासन र विकासको अपेक्षा राखेर आफूलाई विजयी बनाएको भन्दै उहाँले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । २०४० सालमा दाङको सिउजामा बुवा लुमाकान्त पोखरेल र आमा संसुकला पोखरेलको कोखबाट जन्मिएका ४२ वर्षीय पोखरेल हाल बर्दियाको ठाकुरद्वारा नगरपालिका–९, ठाकुरद्वारामा बसोबास गर्दै आउनुभएको छ । स्नातक अध्ययनलाई बिचमै रोक्दै पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका पोखरेलले बर्दिया राष्ट्रिय निकुञ्जआसपास होटेल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । व्यवसायसँगै उहाँ सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएको छ ।

यसअघि नेपाली कांग्रेसका क्रियाशील सदस्य रहँदै क्षेत्रीय प्रतिनिधिसमेत बनेका पोखरेलले यस पटक कांग्रेसका उम्मेदवार किशोरसिंह राठौरलाई पराजित गर्दै प्रतिनिधि सभामा स्थान बनाउन सफल हुनुभएको हो । निर्वाचनमा राठौरले २० हजार ४०२ मत प्राप्त गर्दा पोखरेलले २९ हजार ६७८ मत ल्याउँदै विजयी हुनुभएको थियो । पोखरेलका अनुसार यस पटक मतदाताले पुराना स्थापित नेताभन्दा नयाँ उम्मेदवारलाई अवसर दिएर परिवर्तनको सन्देश दिएका छन् । उहाँले भन्नुभयो, “जनताले विकास, सुशासन र विधिको शासनमार्फत देशलाई समृद्ध बनाउन चाहेका छन् । त्यसैले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मत दिएका हुन् ।”

उहाँका अनुसार बर्दिया क्षेत्र नं. २ पर्यटन सम्भावनाले भरिएको क्षेत्र भए पनि यहाँका स्थानीय विभिन्न समस्याबाट पीडित छन् । बर्दिया राष्ट्रिय निकुञ्ज रहेको यस क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट हरेक वर्ष धेरै मानिसले ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । पोखरेलले स्थानीय बासिन्दा वन्यजन्तुबाट हुने क्षति र जोखिमको समस्यासँग निरन्तर जुधिरहेको बताउनुभयो ।

खुला भारतीय सीमासँग जोडिएको यो क्षेत्रमा पूर्वाधार विकास अझै पर्याप्त हुन नसकेको पोखरेलको भनाइ छ । उहाँले स्वास्थ्य, शिक्षा, सडकलगायतका आधारभूत सेवा सुविधाको पनि अभाव रहेको बताउनुभयो ।

उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जसँग सम्बन्धित ऐन, नियम तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनका प्रावधान धेरै वर्षअघि बनेकाले अहिलेको आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता छ । साथै पर्यटन व्यवसायीले उठाउँदै आएका समस्यालाई पनि नीति निर्माण तहमा सम्बोधन गरिनुपर्ने उहाँले बताउनुभयो ।

पोखरेलले बर्दियालाई पहाडी जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग आमबासा–तेलपानी–सुर्खेत सडक निर्माणलाई प्राथमिकतामा राख्ने पनि बताउनुभयो । उक्त सडक निर्माण भए बर्दिया र कर्णाली क्षेत्रबिचको आवागमन सहज भई आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने उहाँको विश्वास छ ।

त्यसै गरी उहाँले कर्णाली र औरही नदीको कटान तथा डुबान रोक्न प्रभावकारी उपाय आवश्यक रहेको बताउनुभयो । नदी कटानबाट प्रभावित स्थानीयका लागि राहत र दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । पोखरेलले वन्यजन्तुबाट पीडित स्थानीयका लागि पनि उचित क्षतिपूर्ति र सुरक्षाका कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।बर्दिया क्षेत्र नं. २ का मतदाताले आफूलाई दिएको विश्वासलाई सदैव सम्मान गर्दै काम गर्ने उहाँले बताउनुभयो । पर्यटन व्यवसायीसमेत रहेका कारण पर्यटन क्षेत्रका व्यवसायीदेखि आमबर्दियावासीले आफूसँग धेरै अपेक्षा राखेको उहाँले बताउनुभयो ।