• ३० फागुन २०८२, शनिबार

पिछडिएका क्षेत्रका मुद्दा संसद्मा उठाउँछु

blog

हुम्ला, फागुन ३० गते । एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लाबाट यस पटक प्रतिनिधि सभा सदस्यमा जयपति रोकाया निर्वाचित हुनुभएको छ । संसद्मा कर्णाली क्षेत्रमा पिछडिएका जनताको अवाजलाई नियम निर्माणको तहमा लैजाने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । गोरखापत्रसँग विशेष कुराकानीमा उहाँले भन्नुभयो, “विशेष परिस्थितिमा भएको चुनावका क्रममा जनतामाझ गएपछि पिछडिएको र दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेको छु ।”

अहिले झुटा आश्वासन दिनु हुँदैन भन्दै उहाँले चुनावको बेलमा आफूले मतदातासमक्ष राखेको प्रतिबद्धतालाई संसद्मा उठाउने उहाँको भनाइ छ । ४७ वर्षीय रोकायाले आफू पहिलो पटक प्रतिनिधि सभामा जाँदै गरेको र धेरै कुरा सिक्न र बुझ्न बाँकी नै रहेको बताउनुभयो । 

आफ्ना लागि संसद् प्रवेश पहिलो अवसर भएको र संसद्को गरिमा र महत्व बुझेर प्रस्तुत हुने उहाँको भनाइ छ । एसएलसी अध्ययन गरेका उहाँले भन्नुभयो, “प्रतिनिधि सभा बैठकमा विशेष परिस्थितिबाहेक नियमित रूपमा उपस्थित हुन्छु र दुर्गम तथा पिछडिएका दूरदराजका कुरा त्यहाँ उठाउँछु ।”  

बस्ती बस्तीमा कैयौँ पटक घुमेको अनुभव आफूसँग रहेको बताउँदै उहाँले त्यहाँको आवाज संसद्मा पु¥याउने दाबी गर्नुभयो । संसद्मा जाँदै गर्दा जनता र पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीसाथ पूरा गर्ने बताउँदै उहाँले एउटा प्रतिनिधि सभा सदस्यले के के गर्न सक्छन् भन्ने कुरा राम्रो हेक्का राखेको बताउनुभयो । 

सिमकोट–५ का रोकायाले प्रतिनिधि सभा सदस्यको काम र कर्तव्य भनेको राष्ट्रको नीतिनियम निर्माण गर्नु रहेको र त्यसमा आफू गम्भीर हुने बताउनुभयो । नीतिनियम निर्माणका क्रममा दुर्गम, पिछडिएका क्षेत्रका लागि कानुनी रूपमा कसरी व्यवस्था गर्न सकिन्छ, ती सवाल उठाउने प्रतिबद्धता उहाँले जनाउनुभयो । विभिन्न नीतिनियम निर्माण गर्ने समितिसँग पनि त्यस्ता कानुनमा दुर्गमका सवाल समेट्न लबिङ गर्ने उहाँको भनाइ छ । नीतिगत रूपमा भएको हिमाल, पहाड र तराईबिचको विभेद हटाउन संसद्मा आवाज उठाउन नछोड्ने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “नीतिनियम निर्माणमा एउटा प्रतिनिधि सभा सदस्यले जुन भूमिका निर्वाह गर्नु पर्छ; त्यो आफूले सकुन्जेल गर्ने छु ।” यस्तै राष्ट्रिय गौरवका योजना र प्रदेश गौरवका योजना निर्माणमा रचनात्मक सहयोग र सुझाव दिने र समन्वय गर्ने उहाँको भनाइ छ । 

यसै गरी नवयुवाको माग सम्बोधनमा लाग्ने र जिल्लाको विकासका लागि धेरै काम गर्न बाँकी रहेकाले आफू अब विकासका लागि पार्टीगत राजनीतिभन्दा माथि उठेर सामूहिक र बढीभन्दा बढी सेवाग्राही लाभान्वित हुने खालका योजना निर्माण, बजेट विनियोजन गर्ने कार्यमा सहयोगी बन्ने उहाँले जनाउनुभयो । 

यीबाहेक जिल्लाले प्राथमिकता दिएका सबै किसिमका विकासका कामका लागि आफ्नो प्रयास र साथ रहने प्रतिनिधि सभा सदस्य रोकायाको भनाइ छ । 

  

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।