• १० असार २०८१, सोमबार

केरुङबाट पाँच हजार क्विन्टल चामल ढुवानी सुरु

blog

केरुङ नाकामा हिल्साका लागि ढुवानी भएर आउने खाद्यान्न लोड भएका गाडीहरु । तस्बिर सौजन्य: विजय लामा

हुम्ला, जेठ ३२ गते । काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडि काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो । 

खाद्यान्न ढुवानीसँगै रहनु भएका लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि खाद्यान्न चिनियाँ गाडीमा ढुवानी सुरु भएको बताउनुभयो । लिमिटेडले हुम्लाका लागि उक्त नाका भएर पनि खाद्यान्न ढुवानी गर्दै आएको छ । सो मार्ग भएर यस आर्थिक वर्षमा पाँच हजार क्विन्टल खाद्यान्न कोटा थियो । उहाँले पहिले हिमपातले सडक अवरुद्ध भएको र  हाल बाटो पनि खुलेको तथा दूतावासबाट कागजात मिलाउने कार्य भएपछि खाद्यान्न ढुवानी सुरु गरिएको बताउनुभयो । 

उहाँले केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुर्‍याउने र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने बताउनुभयो । जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि याल्वाङमा छोडिने र चार हजार क्विन्टल सिमकोटका लागि ढुवानी हुनेछ । यसका लागि लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र  सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्नेछ । 

यो खाद्यान्न सप्लायरमार्फत ढुवानी भएको हो । चिनियाँ दश वटा मालवाहक गाडीले प्रति गाडी पाँच सय क्विन्टल खाद्यान्न हिल्सासम्म ढुवानी गर्नेछन् । यो खाद्यान्न सिमकोट र याल्वाङमा ढुवानी भएर आइपुगे खाद्यान्न भण्डारण अझै मजबुत हुनेछ ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।