• ३० फागुन २०८२, शनिबार

एसइई नतिजा सुधार्न आँबुखैरेनीमा आवासीय तयारी कक्षा

blog

अमरराज नहर्की
तनहुँ, फागुन ३० गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार ल्याउन ‘पालिका–समुदाय साझेदारी कार्यक्रम’अन्तर्गत विशेष तयारी कक्षा तथा छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले यही फागुन १ गतेदेखि पालिकाका चार स्थानमा आवासीय तयारी कक्षा सञ्चालन गरिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले एसईई परीक्षालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई थप मिहिनेत गराउन र अनुकूल वातावरण सिर्जना गर्न  कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विद्यालयमा फरक–फरक मोडलमा छात्रावास र कोचिङ कक्षाको व्यवस्थापन गरिएको छ । कन्यादेवी माध्यमिक विद्यालय हिलेखर्कमा सञ्चालित छात्रावासको सम्पूर्ण व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिएको छ भने लक्ष्मी माध्यमिक विद्यालय प्युघरमा कोचिङ शुल्क गाउँपालिकाले र खानपानको व्यवस्था अभिभावकले गर्ने गरी समन्वय गरिएको छ ।

यसैगरी, छिमकेश्वरी माध्यमिक विद्यालय भाँगेका विद्यार्थीहरूलाई रामशाह माध्यमिक विद्यालयको छात्रावासमा सहभागी गराइएको छ । रामशाह मावि र मित्रता माध्यमिक विद्यालय सत्रसयमा सञ्चालित छात्रावासमा कोचिङ शुल्कको ठूलो हिस्सा गाउँपालिकाले व्यहोर्ने र केही आंशिक शुल्क अभिभावकले बेहोर्ने व्यवस्था मिलाइएको छ । यी दुई विद्यालयमा विद्यार्थीहरूको खाद्यान्न व्यवस्थापनका लागि निजी क्षेत्र र सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरिएको अध्यक्ष चुमानले बताउनुभयो ।

सोही साझेदारी बमोजिम  रामशाह र मित्रता माविका छात्रावासका लागि खाद्यान्न सहयोग प्राप्त भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार इकाईले ५० बोरा र १७ सय बजार इकाईले १० बोरा चामल सहयोग उपलब्ध गराएका छन् । गाउँपालिकाले यसरी उद्योग वाणिज्य सङ्घ र निजी क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न समुदायको सक्रियता महत्त्वपूर्ण रहेको जनाएको छ । विशेष गरी दुर्गम क्षेत्रका र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई तयारीका लागि मद्दत पुर्‍याउन कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो ।