कठ्याङ्ग्रिँदो चिसो हावा, सिमसिम पानी र हिउँको पर्वाह नगरी सडक किनारमा भिक्षुको लस्करले विश्व समुदायको ध्यान तानिरहेको थियो । सोसल मिडियामा यी दृश्यले प्राथमिकता पाइरहेका थिए । त्यो दृश्यमा देखिन्थ्यो– पहेँलो रङको चीवरले सुसज्जित शान्तिवाहक भिक्षुको लस्कर । पदयात्रामा एकैखालको चीवर लगाएर एकैखालको झोला भिरेर चुपचाप भिक्षुहरू लुरुलुरु यात्रामा थिए । कोही नाङ्गा खुट्टामा थिए । भिक्षुहरू कहिले खुला चौर, कहिले सडक किनार, कहिले विश्राम गर्दै यात्रा गरिरहेका थिए । त्यो यात्रा थियो– अमेरिकाको ।
विश्वशान्तिका लागि चेतना जगाउने उद्देश्यसहित
‘वाक फर पिस–२०२५’ पदयात्रा गरिएको थियो । संयुक्त राज्य अमेरिकास्थित टेक्सासको फोर्ट वर्थबाट २६ अक्टोबरदेखि सुरु भएको यात्रा ११ फेब्रुअरी २०२६ मा वासिङ्टन डिसी पुगेर सम्पन्न भएको थियो । १९ जना भिक्षु सहभागी यस यात्रा १५ हप्ता लगाएर दुई हजार तीन सय माइलको दुरी पार गरिएको थियो । जसको अगुवाइ भिक्षु पन्नाकर तुन्हानले गर्नुभएको थियो । सो यात्रामा ७० वर्षका भिक्षुसमेतको सहभागिता थियो । यात्राको सुरक्षाका लागि प्रहरी भ्यानले स्कर्टिङ गरिरहेको थियो ।
भियतनाम बौद्ध सेन्टरका भिक्षु पन्नाकर तुन्हानले यो यात्रा केवल शान्ति पदयात्रा मात्र नभई शान्ति आजको अपरिहार्य भएको बताउनुभएको थियो । भिक्षु पन्नाकरले भन्नुभएको थियो, “शान्ति कुनै त्यस्तो वस्तु होइन जुन बाहिर खोजेर पाइन्छ । यो आफूभित्रै रहेकोले शान्तिका लागि मानिस स्वयम् जागृत हुनु आवश्यक छ ।”
उहाँले पदयात्राको उद्देश्यमाथि चर्चा गर्दै भन्नुभएको थियो, “शान्ति कसैले दिएर दिन सक्दैन । पैदलयात्राको उद्देश्य पनि शान्ति दिन नभई शान्तिका लागि चेतना जगाउनु हो । तसर्थ शान्तिमय जीवनयापनका लागि मानिस आफैँले पहल गर्नु जरुरी छ ।”
संयुक्त राज्य अमेरिकाको १० राज्यमा केन्द्रित यस शान्ति अभियानका पदयात्रीलाई अभिवादन र स्वागत गर्न बाटो किनारमा लावालस्कर निस्किएका थिए । बच्चा, बुढाबुढी, युवकयुवती तथा अशक्त बाटोमा घन्टाैँ कुरिरहेको देखिन्थ्यो । स्वागतका लागि उभिएकाले आफूले ल्याएको फूल, पानीको बोतल, चकलेट आदि भिक्षुलाई चढाउन पाउँदा खुसी भएको भाव मुहारमा पाइन्थ्यो । कोही भावुकता प्रदर्शन गर्दै गहभरि आँसु लिएर मनको बह पोख्दथे । बाटोमा ‘सेफजर्नी’, ‘टेककियर’ आवाज गुन्जिएको पाइन्थ्यो । बाटातिर शान्ति पदयात्राको सफलताको कामना गर्दै ‘प्रे फर पिस’ प्लेकार्ड फरफराएको देखिन्थ्यो । ठाउँ ठाउँमा परित्राण पाठ भइरहेको, ठाउँ ठाउँमा भिक्षु यात्रुको स्वागत र आशीर्वाद ग्रहण गरेको, भिक्षुको सम्मानस्वरूप ब्याच लगाइएको देखिन्थ्यो ।
भिक्षु घाइते
शान्ति पदयात्रामा भएको दुर्घटनाले भिक्षुको यात्रालाई प्रभावित पारेको थियो । १९ नोभेम्बरको दिन टेक्सासको देतननजिकै एउटा ट्रकले यात्रामा स्कर्टिङ गरिरहेको भ्यानलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करले स्कर्टिङ भ्यान हुत्तिँदा दुई जना भन्ते घाइते भएका थिए । घटनामा एक जना भन्तेलाई सामान्य चोटपटक लागे पनि अर्का भन्ते फ्रा अजर महादान फमसानको देबे्र खुट्टाको तल्लो भाग नै काट्नु परेको थियो । भन्ते फमसानको खुट्टाको शल्यक्रिया गरी नक्कली खुट्टा राखिएको थियो । त्यसपछि टुङ्गिएको उहाँको यात्रा वासिङ्टन डिसी पुग्दा मात्र जोडिएको थियो ।
यात्रामा अलोका
भिक्षुको पदयात्रामा ‘अलोका’ नाम गरेको कुकुरको पनि साथ थियो । भिक्षुको पछि पछि कहिले अघि अघि हिँड्ने अलोकाले पनि शान्ति पदयात्रा पूरा गरेको थियो । कुकुरको यात्रालाई धेरैले मन पराएर सामाजिक सञ्जालमा लाइभ गरेका थिए । विश्वमा सञ्चार माध्यममा अलोकाले प्राथमिकतासाथ स्थान पाएको थियो ।
अत्यन्त बफादार, शान्त स्वभावकोे अलोकाले सबैलाई प्रभावित बनाएको थियो । यस शान्ति पदयात्रामा सुरुदेखि नै जोडिएको यस कुकुर भारतको सडकमा यताउता भौँतारिरहेको थियो । जसलाई भिक्षुले अमेरिका लैजानुभएको थियो । भिक्षु पन्नाकर तुन्हानका अनुसार भारतमा ११२ दिनको पदयात्राका क्रममा यस कुकुरसँग भेट भएको थियो । उक्त यात्रामा अरू कुकुर पनि रहेको तर तिनीहरू कता गए कता गए थाहा भएन तर अलोका पछिसम्म यात्रामा जोडिरहेको थियो । त्यसबेला यो कुकुर पदयात्रा सुरु भएको छ दिनपछि सहभागी भई १०६ दिन यात्रा गरेको थियो । ११२ दिनको पदयात्रा पूरा भएपछि यस कुकुरलाई बाटोमा त्यत्तिकै छोड्न अप्ठेरो भएकोले सँगै अमेरिका लग्ने निधो गरिएको थियो ।
अमेरिका लैजान स्वीकृति प्राप्त भएपछि अलोकाको स्वास्थ्य परीक्षण, खोप लगाउने तथा आवश्यक कागजपत्र र टिकटको व्यवस्था गरिएको थियो । यसका लागि चौध हजार डलर फन्डबाट प्राप्त भएको बताइन्छ । अमेरिका झरेपछि अलोकालाई २८ दिन क्वारेनटाइनमा राखी विहार लगिएको थियो । त्यसबेलादेखि अलोका भिक्षुसँग बस्दै आइरहेको थियो । ‘वाक फर पिस– २०२५’ शान्ति पदयात्रामा ‘पिस डग’ को नामले प्रख्यात अलोकाको खुट्टामा समस्या देखिएपछि शल्यव्रिmया गरिएको थियो ।