• २९ फागुन २०८२, शुक्रबार

पुतलीबजारमा मेयर कप भलिबल हुने

blog

अर्जुन काफ्ले
स्याङ्जा, फागुन २९ गते ।
पुतलीबजार नगरपालिकामा मेयर कप पुरुष/महिला भलिबल प्रतियोगिता हुने भएको छ । यहाँ आगामी चैत ५ देखि ८ गतेसम्म मालेबगर खेलमैदानमा रहेको कभर्डहलमा प्रतियोगिता हुने पुतलीबजार नगर खेलकुद विकास समितिका अध्यक्ष यामप्रसाद गुरुङले जानकारी दिनुभयो ।

खेलहरू जिल्ला भलिबल संघ स्याङ्जाको प्राविधिक सहयोगमा नेपाल भलिबल संघको नियमअनुसार सञ्चालन गरिने छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथमले एक लाख रुपियाँ, द्वितीयले ६० हजार र तृतीयले ४० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र डिफेन्डरलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागी टोली वडा स्तरीय हुने र वडामै स्थायी बसोबास गर्ने हुनुपर्ने तथा टोली दर्ताका बेला नागरिकताको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खेलाडीको जर्सी र मोजाको रङ तथा बनावटमा एकरूपता हुनुपर्ने नियम पनि राखिएको छ । प्रतियोगितामा सहभागी टोलीको दर्ता शुल्क निःशुल्क राखिएको छ ।