• २९ फागुन २०८२, शुक्रबार

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

blog

वन अतिक्रमण गरी बनाइएका छाप्रो भत्काउँदै वनका कर्मचारी र प्रहरी। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन २९ गते ।
सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा बढी छाप्रो बिहीबार भत्काइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला कर्मचारीहरू निर्वाचनमा केन्द्रित भएको मौका छोपी वनको जग्गा अतिक्रमण गर्ने उद्देश्यले बनाइएका ती छाप्रो हटाइएको हो। विगत एक साताभित्र सागरनाथ वन विकास परियोजनाअन्तर्गत मसला रहेको पलौट क्षेत्रमा बाँस गाडेर बनाइएका ६० भन्दा बढी टहरा बिहीबार एकैसाथ भत्काइएको डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत हिरोहित चौधरीले जानकारी दिनुभयो।

डिभिजन वन कार्यालय लालबन्दी, सब–डिभिजन वन कार्यालय जानकीनगर र मुर्तिया तथा सागरनाथ वन विकास परियोजनाका कर्मचारी, वन रक्षकहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा छाप्रो भत्काएर आगो लगाई नष्ट गरिएको हो। वनका कर्मचारी र सुरक्षाकर्मी ठूलो सङ्ख्यामा पुगेपछि वनको जग्गा अतिक्रमण गरी टहरा बनाउने मानिसहरू भने त्यहाँ देखा परेनन्।

वन कर्मचारी र सुरक्षाकर्मीको टोलीले छाप्रो बनाउन गाडिएको बाँस बरामद गरी वरिपरि बेरिएका झिक्रा डढाउने काम गरेको वन अधिकृत चौधरीले बताउनुभयो। त्यस क्षेत्रमा अब कडा निगरानी राखी पुनः वन अतिक्रमण गर्ने प्रयास गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बागमती र बरहथवा क्षेत्रमा सागरनाथ वन विकास परियोजना तथा विभिन्न सरकारी र साझेदारी वन अतिक्रमण गरी घरटहरा बनाउने र खेतीपाती गर्ने गतिविधि हुने गरेको वनका कर्मचारीहरूले बताएका छन्। वन अतिक्रमण तथा तस्करी रोक्न नियमित गस्ती बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ।