• २९ फागुन २०८२, शुक्रबार

गोरखामा बदर मत धेरै

blog

फाइल तस्बिर

सुलीकोट समाचारदाता

सुलीकोट, फागुन २९ गते । गोरखा जिल्लामा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेख्य सङ्ख्यामा मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका तथ्याङ्क अनुसार जिल्लाभर खसेको कुल एक लाख २० हजार ७६५ मतमध्ये पाँच हजार २२८ मत बदर भएको हो । जुन कुल मतको ४.३२ प्रतिशत हो । 

निर्वाचन क्षेत्र नम्बर १ मा ६३ हजार ६०९ मत खसेकोमध्ये दुई हजार २१९ मत बदर भएको छ भने यस क्षेत्रमा ६१ हजार ३९० मत मात्र सदर भएको थियो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ५७ हजार १५६ मत खसेकोमध्ये तीन हजार नौ मत बदर भएको छ भने ५४ हजार १४७ मत मात्र सदर भएको निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले बताउनुभयो । 

गोरखा नगरपालिकामा सबैभन्दा धेरै ९६५ मत बदर भएको छ । यो कुल खसेको २१ हजार ५१० मतको ४.४८ प्रतिशत हो । पालुङटार नगरपालिकामा ८८३ मत अर्थात् २.६९ प्रतिशत बदर भएका छन् । बारपाक सुलीकोट गाउँपालिकामा ६४९ मत बदर भएको छ भने जुन कुल मतको ५.९५ प्रतिशत हो । त्यस्तै गरी अजिरकोट गाउँपालिकामा बदर मतका दर सबैभन्दा धेरै ६.१९ प्रतिशत रहेको छ । सिरानचोक गाउँपालिकामा ५८५ मत बदर भएको जुन ५.४२ प्रतिशत बदर भएको छ । 

गण्डकी गाउँपालिकामा भने बदर मतको दर तुलनात्मक रूपमा कम रहेको छ । यहाँ २६९ मत अर्थात् २.७१ प्रतिशत मत बदर भएका छन् । सहिद लखन गाउँपालिकामा ४३६ मत बदर भएको छ जुन ३.४२ प्रतिशत बदर भएको छ भने भीमसेन थापा गाउँपालिकामा ११ हजार ३१ मत खसेकोमा ३१६ मत अर्थात् २.८६ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । 

आरुघाट गाउँपालिकामा ३५३ मत अर्थात् ४.६५ प्रतिशत बदर भएका छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा आठ हजार ८२८ मत खसेको मध्ये २४० मत अर्थात् २.६९ प्रतिशत बदर भएका छन् भने चुमनुब्री गाउँपालिकामा ९९ मत अर्थात् ४.१६ प्रतिशत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी सुवेदीको भनाइ छ ।