मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), फागुन २९ गते । मुस्ताङमा प्रतिनिधि सभा सदस्य चुनावलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन प्रहरीको योगदान अतुलनीय रहेको बताइएको छ ।
गएको फागुन २१ को निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीको बिदाइ समारोहमा प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले निर्वाचनमा नेपाल प्रहरी र निर्वाचन प्रहरीको भूमिका एउटा सिक्काका दुई पाटा भएको बताउनुभयो । प्रनाउ लामाले भन्नुभयो, “बाक्लो हिउँ कुल्चिँदै विकट बस्तीसम्म पुगेर सेवा दिनुभयो, हरेक सुरक्षा कार्यमा खटिएर निर्वाचन सम्पन्न भयो ।”
निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि अनुसार ४० दिनसम्म सेवा गरी बिहीबार बिदाइमा निर्वाचन प्रहरीले समेत आफ्नो अनुभव तथा अगामी दिनमा पनि सम्भव भएसम्म निर्वाचनमा खटिने प्रतिबद्धता जनाएका थिए ।
बिदाइ समारोहमा प्रमाणपत्रसहित आगामी दिनमा समेत नेपाल सरकारका विभिन्न अभियानमा जोडिन अनुरोधसहित शुभकामना दिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो । निर्वाचनमा खटिएकालाई तलब ४० दिनको ३४ हजार ७७६ रुपियाँ, खाद्यान्न सुविधा १२ हजार ३२८ रुपियाँ र यातायात र खानाखर्चबापत १२ सय रुपियाँ उपलब्ध गराइएको थियो । मुस्ताङमा नेपाल प्रहरीतर्फ २६६ जना र सशस्त्र प्रहरी बलमा ४६ जना भर्ना भएका थिए ।
सम्मानसहित बिदाइ
वालिङ समाचारदाताका अनुसार स्याङ्जाका विभिन्न स्थानमा खटिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र इलाका प्रहरी कार्यालाय चिसापानीमा छुट्टाछुट्टै कार्यक्रम गरेर बिदाइ गरिएको हो ।
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई सम्मानस्वरूप बिदाइ तथा प्रशंसापत्र वितरण गरिएको स्याङ्जाका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । स्याङ्जा जिल्लामा जम्मा दुई हजार ११५ जना निर्वाचन प्रहरी खटिएका थिए ।
फर्किए निर्वाचन प्रहरी
तनहुँ समाचारदाताका अनुसार दमौलीस्थित तनहुँ जिल्ला सभा हलमा आयोजित कार्यक्रममा निर्वाचन प्रहरीलाई सम्मान गरिएको हो ।
निर्वाचन सुरक्षामा खटिएकी निर्वाचन प्रहरी चन्द्रमाया प्रजाले राष्ट्रको महत्वपूर्ण लोकतान्त्रिक अभ्यासमा प्रत्यक्ष सहभागी हुन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । उहाँले निर्वाचनको समयमा जनताको सुरक्षा र मतदान केन्द्रको व्यवस्थापनमा खटिनु आफ्ना लागि अविस्मरणीय अनुभव रहेको भनाइ व्यक्त गर्नुभयो । निर्वाचन सुरक्षामा खटिएका एक हजार ५६९ जना निर्वाचन प्रहरीको योगदानको उच्च कदर गर्दै उनीहरूलाई प्रशंसापत्र प्रदान गरी बिदाइ गरिएको थियो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय तनहुँले प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गरेको छ ।