अमरराज नहर्की
तनहुँ, फागुन २९ गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित पोखरा मानुङकोट रिसोर्ट र व्यास–११ पोल्याङस्थित एक घरमा गएराति आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार राति करिब १२ः४५ बजे व्यास–१ विज्ञानचौर निवासी शिव ताम्राकार र व्यास–६ बाह्रबिसे निवासी पूर्णबहादुर श्रेष्ठले संयुक्त रूपमा सञ्चालन गर्दै आएको टिनले बनेको एकतले रिसोर्टमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट रिसोर्टभित्र रहेका लत्ताकपडा, मदिरा तथा किराना सामानसहित रिसोर्टको संरचना पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको र प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा राति करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रनाउ बिकले जानकारी दिनुभयो । प्रारम्भिक अनुमान अनुसार रिर्सोटमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको र थप विवरणका लागि मुचुल्का तयार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी व्यास नगरपालिका–११ पोल्याङस्थित अमृत पन्थको घरमा पनि गएराति नै आगलागी भएको छ । विद्युत सर्ट भएर पन्थको घरमा आगलागी भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक बिकले उक्त घटनाको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको बताउनुभयो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।