महेशकुमार दास
जलेश्वर, फागुन २९ गते । राजनीतिक विरासत बोक्नुभएका उहाँलाई राजनीति हेर्न घरभन्दाबाहिर जानु परेन । कुनै बेला महोत्तरीका चर्चित नेता कुलानन्द झाका नाति ३३ वर्षीय उज्ज्वलकुमार झा दोस्रो प्रयासमै संसदीय यात्रामा भारी मतका साथ विजयी हुनुभएको छ । गत प्रदेश सभा सदस्यको निर्वाचनमा महोत्तरी क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका झाले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिँदै दिग्गज नेता नेपाल सङ्घीय समाजवादी पार्टीका रिजवान अन्सारीलाई भारी मतान्तरले पराजित गर्दै सङ्घीय संसद्को ढोका उघार्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “कृषिलाई रोजगारीसँग जोड्नु मेरो प्रमुख प्राथमिकतामा हुने छ । तराईका अधिकांश भूभाग कृषियोग्य रहे पनि सरकारीस्तरबाट किसानका लागि पर्याप्त सुविधा नुहुँदा स्थितिमा सुधार आउन सकेको छैन । त्यसैले किसानलाई दिइने सेवा सुविधा, ऋण, अनुदान उपलब्ध गराएर कृषिमा उल्लेखनीय प्रगति गर्ने मेरो प्रयास रहने छ ।” खेतीका लागि सिँचाइ व्यवस्थापन, मल खाद्य व्यवस्थापन, नगदे बालीका लागि बजार व्यवस्थापन गरेर किसानले राम्रो आम्दानी गर्न सक्ने वातावरण बनाउने उहाँ बताउनुहुन्छ । उहाँले आफ्नो क्षेत्रमा देखिएका शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि व्यापक सुधार गर्ने नीति लिनुभएको छ ।
महोत्तरीको सीमावर्ती भारततर्फ ड्राइपोर्ट निर्माण सुरु भइसकेको र नेपालतर्फको काम पनि चाँडै सुरु गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “बाढीले सदरमुकाम जलेश्वरलगायत वरिपरिको क्षेत्र डुबानमा पर्दै आएकाले जनधनको क्षति रोक्न गुरुयोजना ल्याउने तयारी छ ।” विसं २०४९ पुस २५ गते महोत्तरीको एकडारा गाउँपालिका–२ मा जन्मनुभएका झाले जनकपुरधाम स्थित शिशु प्रज्ञा सदन स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि प्लस टु देखि इन्जियरिङसम्मको अध्ययन भारतको बैङ्गलुरुबाट पूरा गर्नुभएको हो । भिआइटिआई टेलगामबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर नेपाल आउनुभएका झासँग भूकम्प प्राधिकरणमा छ महिना काम गरेको अनुभव पनि छ ।
सुक्खा बन्दरगाहसँग सम्बन्धित क्षेत्रमा विशेष उहाँले वीरगन्ज ड्राइपोट र आइपिसीको संयुक्त कार्यालयमा तीन वर्ष काम पनि गर्नुभयो । उहाँ भन्नुहुन्छ, “जहाँ हे¥यो त्यहाँ बेथिति छ, राजनीतिक दलले जनताको पीडा सुन्दै नसुन्ने अनि जनता पीडित हुने भए । आर्थिक अवस्था कमजोर भएका बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्ने देखेको छ । उहाँले जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न भए पनि सर्वसाधारणले सो अनुरूपको सुविधा नपाएकोमा त्यसलाई सुधार्ने बताउनुभयो । समाजमा व्याप्त कुशासनको अन्त्य गरी सरकारी संयन्त्रबाटै जनतालाई सरल र सहज सुविधा दिने कामलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै उहाँले भन्नुभयो, “विगतमा नेताहरूले जनताका कुरा नसुनेकाले उहाँहरू आव्रmोशित हुनुहुन्छ, यस पटकदेखि त्यस्तो हुँदैन, हरेकका कुरा सुनिन्छ । पुरानो राजनीतिक दलभन्दा फरक ढङ्गले काम गर्छु ।”
यस क्षेत्रमा मतदाताले अहिलेसम्म भोग्दै आएको समस्या खुलेर मसँग राख्नुभएको छ, मैले पनि उहाँहरूको साना साना समस्या सुन्ने र बुझ्ने प्रयास गरेँ । यसपालि जनताले गरेको मतदान मत मात्र होइन ममाथिको स्नेह हो, उहाँले भन्नुभयो । जनताले भोग्दै आएको समस्याको निदान निकाल्ने आशासहित परिवर्तनका लागि मतदाताले आफूमाथि विश्वास गरेको बताउँदै नवनिर्वाचित सांसद झाले भन्नुभयो, “यो निर्वाचन नेताको होइन जनताको जित भएको छ ।”