• ४ वैशाख २०८३, शुक्रबार

स्याङ्जामा दुई पालिकामा भर्ना अभियान सुरु

blog

फेदीखोलाका सामुदायिक विद्यालयमा सुरु भएको विद्यार्थी भर्ना अभियानको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष धनश्याम सुवेदी लगायत । तस्बिर: राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), वैशाख ४ गते ।स्थानीय तहको अवस्था फरक रहेको भन्दै स्याङ्जाका दुई पालिकाले भर्ना अभियान सुरु गरेका छन् ।

जिल्लाको चापाकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले भर्ना अभियान सुरु गरेका हुन्। स्थानीय परिवेश, विद्यार्थीको अवस्था र अभिभावकको भावना अनुसार भर्ना अभियान सुरु गरिएको पालिकाहरुले जनाएका छन् ।

चापाकोटले शुक्रबारबाट र फेदीखोलाले बुधबारबाट नै भर्ना अभियान सुरु गरेको हो। फेदीखोला गाउँपालिकाले ९ गते र चापाकोट नगरपालिकाले १४ गतेबाट नियमित पठनपाठन सुरु गर्ने गरी शैक्षिक क्यालेन्डर तयार गरेको बताएकाछन् ।

चापाकोट नगर शिक्षा समितिको बैठकले विद्यार्थीको पढाईमा असर पर्न सक्ने भन्दै तत्कालै भर्ना अभियान सुरु गर्ने निर्णय गरेको नगरप्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो ।

संविधान र कानुन अनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो,“ विद्यार्थीको अवस्था र स्थानीय तहको परिवेश पनि फरक छ त्यसैले हामी भर्ना अभियान सुरु गरेका हौँ ।”

सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने निर्णय गरेको थियो । ११ पालिका रहेको स्याङ्जाका अन्य पालिकाले आधिकारिक निर्णय नगरेको भए पनि संस्थागत विद्यालय भने नियमित पठनपाठन तर्फ लागेका छन् ।

विभिन्न विद्यालयले सूचना नै प्रकाशन गरेर भर्ना र नियमित कक्षा सञ्चालन हुने मिति तय गरेका हुन् ।