• ४ वैशाख २०८३, शुक्रबार

फिदिम बजारमा ‘लिम्बुवान गेट’ निर्माण आरम्भ

blog

गेट निर्माण प्रारम्भ गर्नुपूर्व निर्माण स्थलमा शिला स्थापना गरिँदै । तस्बिर :राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख ४ गते । पाँचथर सदरमुकाम फिदिम बजारको मुख्य भागमा निर्माण हुन लागेको ‘लिम्बुवान गेट’ को काम सुरु गरिएको छ ।

यसअघि यहाँ रहेको गेट मेची राजमार्गको विस्तारका क्रममा भत्काइएको थियो । पुरानो गेट भत्काएर कालोपत्रे सकिएको दुई वर्ष पछि जग्गा व्यवस्थापन गरेर नयाँ निमार्ण गर्न शुक्रबार शिलान्यास भएको हो ।

गेट निर्माणको शुभारम्भ शिला पूजा गरेर फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले सहित जिल्लाका राजनैतिक दलका प्रमुख र जनप्रतिनिधिले सामूहिक रुपमा शिलान्यास गर्नु भएको हो ।

लिम्बुवान गेट निर्माणको जिम्मा ‘लिम्बुवान गेट निर्माण तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद्’ ले लिएको छ ।यसको अनुमानित लागत २५ लाख रहेको परिषदका अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिनुभयो ।

यहाँ पञ्चायती व्यवस्था सुरुवात भएको २५ वर्ष प्रवेशका अवसरमा रजत वर्ष मनाउने खुशियालीमा तत्कालीन जिल्ला पञ्चायत पाँचथरले लगानी गरेर निर्माण गरेको इतिहास छ ।

पहिले ‘मेन गेट’ नामले परिचित उक्त गेटलाई २०६२।०६३ सालको जनआन्दोलन  पश्चात सङ्घीयता पक्षधरले रङ रोकन गरी ‘लिम्बुवान गेट’ नामकरण गरेका थिए । 

 यसै बिच फिदिम बजार हुँदै अगाडि बढेको मेची राजमार्ग चौडासँगै कालोपत्रे गर्ने काम शुरु भएपछि पहिचान पक्षधरले गेट हटाउन नहुने अडान राखिरहेका थिए । 

तर सर्वपक्षीय बैठकले तत्काललाई गेट भत्काइएको थियो । त्यसपछि नागरिक स्तरबाट रकम संकलन गरेर यहाँ गेट निर्माण थालिएको हो । 

निर्माणाधीन गेटमा सिलाम साक्मा, नगरपालिकाको लोगो र च्याब्रुङ लगायत प्रतिमा कुदिनेछन ।