यादवराज पुरी
रौतहट, वैशाख ४ गते ।पछिल्लो समय रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा तीन पाङ्ग्रे विद्युतीय रिक्सा (ई–रिक्सा) वैदेशिक रोजगारीको विकल्प बन्दै गएको छ ।
स्वदेशमै आयआर्जनको भरपर्दो माध्यम बनेको ई रिक्साप्रति वैदेशिक रोजगारीको जोखिम र अनिश्चितताबाट थाकेका युवादेखि मध्यम उमेर समूहका नागरिक आकर्षित भइरहेका छन् ।
चन्द्रपुर-६ का रिक्सा व्यवसायी उमेश झा भन्नुहुन्छ, “कम लगानी, सहज सञ्चालन र दैनिक नगद आम्दानीको सुनिश्चितताले ई–रिक्सा अधिकांश सर्वसाधारणको रोजाइको पेशा बनेको छ ।विदेश जाँदा लाखौं खर्च हुन्छ । जोखिम पनि धेरै हुन्छ । तर यहाँ ई–रिक्सा चलाउँदा दैनिक खर्च धान्न पुग्छ र बचत पनि गर्न सकिन्छ ।”
विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवा ई–रिक्सामा आकर्षित भएका छन् । विदेशमा भोगेको दुःख, असुरक्षा र परिवारबाट टाढा रहनुपर्ने बाध्यताभन्दा स्वदेशमै सम्मानपूर्वक काम गर्नु राम्रो विकल्प भएको मलेसियाबाट फर्किएका युवा जयराम चौधरीको अनुभव छ ।
ई-रिक्सा सङ्घ चन्द्रनिगाहपुरका अध्यक्ष मोमताज आलमले ई रिक्सा सञ्चालनबाट दैनिक जीवनयापन सहज बनाएको मात्र नभई परिवारको आर्थिक अवस्था सुधार्न समेत टेवा पुगेको बताउनुभयो ।
उहाँका अनुसार बिहानदेखि साँझसम्म सञ्चालन गर्दा दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्म आम्दानी हुने हुँदा यसले घरखर्च, बालबालिकाको शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
चन्द्रपुर बजार क्षेत्रमा यात्रुहरूको चाप बढेसँगै ई–रिक्साको माग पनि बढ्दो छ । छोटो दूरीका यात्राका लागि सस्तो, सजिलो र वातावरणमैत्री साधन भएकाले सर्वसाधारणले पनि यसलाई रुचाएका छन् ।
पेट्रोलियम पदार्थको सट्टा विद्युत् प्रयोग हुने भएकाले वातावरणीय हिसाबले पनि यो लाभदायक मानिने सन्तपुरका रिक्सा व्यवसायी लालमणि गौतमको तर्क छ ।
हाल चन्द्रपुर नगरपालिकामा सङ्घमा दर्ता भएका र नभएका गरी चार सयको हाराहारीमा ई रिक्सा सञ्चालनमा रहेको रिक्सा सङ्गठन चन्द्रपुरका अध्यक्ष अम्बर मिजारले जानकारी दिनुभयो ।
उहाँका अनुसार बढ्दो सङ्ख्याले व्यवस्थापन चुनौती पनि थपिएको छ । ट्राफिक व्यवस्थापन, पार्किङको अभाव र अनियन्त्रित सञ्चालनजस्ता समस्या देखिन थालेका छन् । स्थानीय सरकारले यसलाई व्यवस्थित बनाउन नीति तथा दर्ता प्रणाली प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
पालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले चन्द्रपुरमा ई–रिक्सा केवल यातायातको साधन मात्र नभई स्थानीय नागरिकका लागि आत्मनिर्भर बन्ने माध्यमका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।
विदेश जाने मोह घटाउँदै स्वदेशमै सम्भावना खोज्ने प्रवृत्ति बढ्नुले दीर्घकालीन रूपमा स्थानीय अर्थतन्त्रलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ ।