घोराही, फागुन २९ गते । शिक्षण, सामाजिक सेवा र सार्वजनिक जीवनमा लामो अनुभव बोकेका देवराज पाठकले संसदीय यात्रा सुरु गरेको दोस्रो पटकमै बाजी मार्नुभएको छ । अघिल्लो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. १ मा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाठक यस पटक भारी मतान्तरले विजयी हुँदै सङ्घीय संसद्को ढोका खोल्नुभएको छ । हाल पार्टीको लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय समिति सदस्यसमेत रहेका पाठक साहित्य लेखनमा पनि उत्तिकै रुचि राख्नुहुन्छ ।
विसं २०२२ चैतमा दाङको गढवा गाउँपालिका–६, गढवामा जन्मेका पाठकले समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ । करिब २५ वर्ष विद्यालयमा अध्यापन गरेका उहाँसँग सात वर्ष गढवा बहुमुखी क्याम्पसको प्रमुखका रूपमा काम गरेको अनुभव छ । पाठक भन्नुहुन्छ, “दाङ क्षेत्र नं. १ का मतदाताले देखाउनुभएको विश्वासका लागि म कृतज्ञ छु ।
लामो समयदेखि राजनीति गर्दै आएका उम्मेदवारलाई निर्वाचित नगरेर नयाँ उम्मेदवारलाई जिताउनु भनेको परिवर्तन चाहनाको सङ्केत हो । जनताले सुशासन, पारदर्शिता र विधिको शासनमार्फत देशलाई समृद्ध बनाउने अपेक्षा राखेर हामीलाई अवसर दिनुभएको हो ।”
दाङ क्षेत्र नं. १ देउखुरी क्षेत्रभित्र पर्ने भएकाले यसको भौगोलिक महत्व पनि ठुलो छ । यहाँ लुम्बिनी प्रदेशको राजधानी र भारतीय सीमावर्ती भूभागसमेत पर्छ तर यति महत्वपूर्ण क्षेत्र भए पनि यहाँ अझै आधारभूत पूर्वाधार र सेवासुविधाको अभाव रहेको पाठकको भनाइ छ ।
उहाँका अनुसार उपचारका लागि सुविधासम्पन्न अस्पताल छैन । कृषिमा राम्रो सम्भावना हुँदाहुँदै किसानले समयमा मल र बिउ नपाउने समस्या छ भने भरपर्दो सिँचाइ व्यवस्था पनि अभाव छ । सीमावर्ती क्षेत्रका धेरै गाउँमा बर्सैभरि चल्ने सडक, खानेपानी, विद्युत् र इन्टरनेट जस्ता आधारभूत सेवाको पहुँच पुगेको छैन । कतिपय ठाउँमा अहिले पनि नागरिकले खोलाको पानी पिउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
यी समस्यालाई समाधान गर्न नेपाल–भारत सीमामा रहेको कोइलाबास नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने, सडक विस्तार, पुल निर्माण, सडक कालोपत्रे तथा सिँचाइ कुलो निर्माण जस्ता कामलाई प्राथमिकतामा राख्ने उहाँको योजना छ । साथै मोही र ऐलानी बस्तीको समस्या समाधान गर्दै नागरिकलाई लालपुर्जा उपलब्ध गराउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने विषयमा पनि पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पाठकले निर्वाचनका क्रममा घरदैलोमा जाँदा जनताले भोगिरहेका समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै भन्नुभयो, “ती समस्यालाई संसद्मा उठाउँदै समाधानका लागि पहल गर्ने मेरो भूमिका हुने छ । यसका लागि मैले संसद्मा सक्रिय भूमिका खेल्ने छु ।” शिक्षण पेसामा आबद्ध भएकाले शिक्षा क्षेत्र सुधार र सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास बढाउने विषयमा पनि आफू सक्रिय रहने उहाँले बताउनुभयो । पाठकले मतदाताले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा मतदान गरेर आफूलाई अवसर दिएको बताउँदै जनताले देखाएको विश्वासलाई व्यवहारमा उतार्दै दाङ क्षेत्र नं. १ र समग्र जिल्लाको विकासका लागि निरन्तर पहल गर्ने बताउनुभयो ।