• ३ साउन २०८२, शनिबार

हुलाकी सडकमा धमाधम बन्दै पुल

blog

हुलाकी सडक अन्तर्गत सोमइथानखोलामा बन्दै गरेको पुल । तस्बिर : लीलाधर वली

घोराही, साउन ३ गते । हुलाकी सडक निर्माणमा ढिलाइ भइरहे पनि पुल भने धमाधम निर्माण हुन थालेका छन् । हुलाकी सडक अन्तर्गत देउखुरीको गढवा गाउँपालिका–१, वनघुस्रीदेखि राजपुर गाउँपालिका–५, गङ्गदीसम्मको ४० किलोमिटर सडकखण्डमा धमाधम पुल निर्माण हुन थालेका छन् । 

हुलाकी सडकमा बन्न थालेका १० वटा पुलमध्ये चार वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक आयोजनाले जनाएको छ । हुलाकी सडक अन्तर्गत बन्न थालेको राजपुर गाउँपालिका–१ स्थित गुरुङखोला पुल अन्तिम चरणमा पुगेको छ । २०८२ असोज २१ गते निर्माण सक्ने गरी २०७९ चैत २२ गते भैरव–नारायण जेभी बाँकेसँग ठेक्का सम्झौता भएको थियो । 

सम्झौता अनुसार गुरुङखोलासँगै सानो राप्तीखोलामा पुल निर्माण गर्ने गरी एकै प्याकेजमा ४१ करोड ५६ लाख ६७ हजार पाँच सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । हुलाकी सडक आयोजना नेपालगन्ज बाँकेका इन्जिनियर श्रवण महतराले गुरुङखोला पुलको भौतिक प्रगति ९५ प्रतिशत तथा वित्तीय प्रगति ९१ प्रतिशत रहेको बताउनुभयो । 

इन्जिनियर महतराका अनुसार गुरुङखोला र सानो राप्ती दुवै ठाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इन्जिनियर महतराले पुल निर्माणको मुख्य काम सकिएर अहिले पुलमा रेलिङ, ढलानसँगै पुलको दायाँबायाँ सडकसँग मिलाउने काम बाँकी रहेको र उक्त काम बर्सातपछि सकिने बताउनुभयो । गुरुङखोला जस्तै हुलाकी राजमार्ग अन्तर्गत पर्ने पर्सिमपुरेखोला, बौराहाखोला र चमारेसोतामा पुल निर्माणको काम भइरहेको छ । उहाँले एउटै प्याकेज अन्तर्गत तीन वटै पुल निर्माणको काम भैरव–नारायण जेभी बाँकेले गरिरहेको बताउनुभयो । 

उहाँका अनुसार २०८२ असोज २१ गते निर्माण सक्ने गरी २०७९ चैत २२ गते ठेक्का सम्झौता भएका पुलको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत रहेको छ । उहाँले बबईसोता, खौराखोला, बुकेसोता र पुतलीबजारस्थित सोतामा पुल निर्माणको काम सकिएको र सोमइथानखोलामा पुल निर्माण भइरहेको बताउनुभयो । 

पुल निर्माणको काम धमाधम अघि बढे पनि गढवा बजारदेखि वनघुस्रीसम्मको २० किलोमिटर सडक निर्माणमा भने ढिलाइ भइरहेको छ । २०७९ साल कात्तिक मसान्तसम्म सडक निर्माणको काम सक्ने गरी २०७६ साल कात्तिक २९ गते वज्रगुरु–कान्छाराम जेभी काठमाडौँसँग ६७ करोड ३७ लाख ५३ हजार ८९८ रुपियाँ ७१ पैसामा ठेक्का सम्झौता भएको थियो । 

तर निर्माण कम्पनीको लापर्बाहीका कारण सडक अलपत्र परेको छ । इन्जिनियर महतराका अनुसार सडकको ३८ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति रहेको छ । अहिले सडकको काम हुन सकेको छैन । सडकको थपिएको म्यादसमेत असार मसान्तमा सकिएको छ । सडक निर्माणको जिम्मा पाएको वज्रगुरु कान्छाराम जेभीले सडक निर्माणमा चरम लापर्बाही गरेको र म्याद थप गर्दासमेत सडक बन्न अवस्था नरहेको भन्दै हुलाकी सडक आयोजनाले सम्झौता खारेजका लागि फाइल सडक विभागमा पठाएको भए पनि कुनै निर्णय हुन सकेको छैन ।    

Author
लीलाधर वली

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि घोराही समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।