• ९ भदौ २०८२, सोमबार

थारू गाउँबस्तीमा अटवारी पर्वको रौनक

blog

अटवारी पर्वका अवसरमा रोटी पकाइँदै ।

घोराही, भदौ ९ गते । थारू समुदायको बाहुल्य रहेको पश्चिम नेपालको तराई क्षेत्रमा अटवारी पर्वको उल्लास छाएको छ । अटवारी पर्व सुरु भएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायका पुरुषले विशेष रूपमा मनाउने अटवारी पर्वमा दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै मनाउने गरिन्छ । थारू संस्कृतिविद् बेझलाल चौधरीले अटवारी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बताउनुभयो । 

उहाँका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन रहेको छ । दिदीबहिनीलाई छुट्याएको भागलाई अग्रासन अर्थात् कोसेली भनिन्छ । उहाँका अनुसार अटवारीको दिन रोटी र फलफूल खाने प्रचलन छ । 

अटवारीको दोस्रो दिन बिहानै नुहाएर पूजापाठ गरेर खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी खाने प्रचलन रहेको छ । अटवारी पर्व थारू समुदायले दसैँपछिको ठुलो पर्वका रूपमा मनाउने गर्छन् । थारू अगुवा लक्षीमान चौधरीले थारू समुदायको बसोबास रहेको दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाउने बताउनुभयो । 

अटवारी पर्वमा विशेष गरी माछा, गँगटा, घोँगीलगायत अन्य परिकार पकाउने गरिन्छ ।  आइतबार दिउँसोतिर गाउँका सबै जना मिलेर गैन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्ने चलन छ । उहाँका अनुसार काठ घोटेर चोखो आगो उत्पादन गर्ने र त्यसैमा भीमलाई चढाउनलाई एकोहोरो रोटी पकाउने गरिन्छ । रोटी पाकेपछि सबै व्रतालु स्नान गरी पूजामा सहभागी हुन्छन् । पाँच पाण्डवका चार भाइले खाना खानुभन्दा अगाडि आआफ्नो भागबाट आधा आधा भाग भीमका लागि छुट्याउने गरेको विश्वास छ । 

उहाँका अनुसार थारू जातिले अटवारीमा आफ्नो भागबाट आधा भाग भीमका लागि छुट्याएर मात्र खाने प्रचलन रहेको छ । त्यस दिन व्रतालु नुनलगायत जुठो मानिने अन्य खाने कुरा खाँदैनन् । यो पर्वमा खाना पकाउने जिम्मा व्रतालु पुरुषकै हुन्छ । अटवारीमा साँझ र बिहान व्रतालुले आआफ्नो भागबाट आधा आधा निकाल्ने चलन छ । त्यो भागलाई अग्रासन अर्थात् कोसेली भन्ने गरिन्छ । यो अग्रासनको अग्राधिकार व्रतालुको दिदीबहिनीको हुन्छ ।

अटवारी पर्वमा चेलीबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवानको पूजा र शक्तिशाली बलवान् भीमको पूजा गर्ने चलन रहेको भन्दै उहाँले भन्नुभयो, “अटवारी पर्र्वमा मन प्रसन्न रहने, पारिवारिक समृद्धि हासिल हुने मान्यता छ ।” थारू समुदायको प्रमुख पर्व अटवारीका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबारसँगै विभिन्न स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् । 

Author
लीलाधर वली

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि घोराही समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।