घोराही, भदौ ६ गते । दाङमा पाँच वर्षको अवधिमा स्वास्थ्य बिमा कार्यक्रममा ७१ हजार नागरिक आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको छ लाख ७४ हजार ९९३ जनसङ्ख्यामध्ये १०.६२ प्रतिशत अर्थात् ७१ हजार ८१८ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हुन् ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय दाङका संयोजक वसन्त लामिछानेले जिल्लामा २०७७ माघ ३० देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ सम्म ३७ हजार ७९८ जना महिला र ३३ हजार ९२० जना पुरुष गरी ७१ हजार ७१८ जना नागरिक आबद्ध भएको जानकारी दिनुभएको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा स्वास्थ्य बिमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढी छ । शाखा संयोजक लामिछानेका अनुसार घोराहीमा ३७ हजार २०८ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
त्यसै गरी तुलसीपुर उपमहानगरपालिकामा १६ हजार ४६७ जना, लमही नगरपालिकामा चार हजार १९९ जना, राप्ती गाउँपालिकामा तीन हजार २६९, गढवा गाउँपालिकामा दुई हजार ६३३, राजपुर गाउँपालिकामा एक हजार ३६ व्यक्ति आबद्ध भएका छन् । त्यसै गरी बङ्गलाचुली गाउँपालिकामा एक हजार ४३१, दङ्गीशरण गाउँपालिकामा एक हजार ८१३, शान्तिनगर गाउँपालिकामा एक हजार ६५३ र बबई गाउँपालिकामा दुई हजार नौ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकामध्ये १७ हजार ६५६ जना ज्येष्ठ नागरिक, एक हजार ९३५ जना अति अपाङ्गता भएका अर्थात् रातो कार्ड प्राप्त गरेका, ३९७ जना एचआइभी सङ्क्रमित, १८ जना क्षयरोगका बिरामी, चार जना कुष्ठरोगका बिरामीसँगै दुई हजार ७२ जना महिला स्वास्थ्य स्वयंसेविका छन् भने बाँकी अन्य नागरिक रहेका छन् ।
जिल्लामा पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनका लागि जिल्लाका एक सय वटा वडामा सहयोगी कार्यकर्ताको व्यवस्था गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएपछि पाँच जनाको परिवारसम्मले वर्षमा तीन हजार पाँच सय प्रिमियम शुल्क तिरेपछि सरकारले एक लाख रुपियाँ बराबरको स्वास्थ्य सेवा दिने गरेको छ । यसै गरी छ जनादेखि माथिको परिवार सदस्य भए प्रतिसदस्य थप सात सय रुपियाँ जम्मा गर्नुपर्ने हुन्छ । उक्त परिवारले वर्षमा दुई लाख रुपियाँको स्वास्थ्य उपचारमा सुविधा पाउँछन् ।
जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, रक्षाचौर आँखा अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र उजा र बङ्गलाचुली अस्पतालमा बिमा गरेबापतको उपचार सेवा केन्द्र तोकिएको छ ।