• १६ साउन २०८२, शुक्रबार

तटबन्ध निर्माणमा आठ महिना म्याद थप

blog

राप्ती नदी अन्तर्गत गढवा–५, तकियापुरमा भइरहेको तटबन्धको काम । तस्बिर: लीलाधर वली

घोराही, साउन १५ गते । दाङमा साढे दुई वर्षको अवधिमा राप्ती नदी तटबन्धको ७१ प्रतिशत काम सम्पन्न भएको छ । राप्ती नदी अन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिका क्षेत्रमा करिब ११ किलोमिटरमध्ये ७१ प्रतिशत अर्थात् करिब आठ किलोमिटर क्षेत्रमा तटबन्ध गर्ने काम सकिएको छ । 

२०८२ असार मसान्तभित्र तटबन्धको काम सक्ने गरी २०७९ पुसमा कालिका कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । जनताको तटबन्ध आयोजना लमही दाङका प्रमुख डा. नारायण सुवेदीले सम्झौता अनुसार निर्माण कम्पनीले ३० महिनाको अवधिमा करिब आठ किलोमिटर तटबन्धनको काम सकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार तटबन्ध गर्ने काम भइरहेको भए पनि अझै करिब तीन किलोमिटर तटबन्ध गर्ने काम पूरा हुन सकेको छैन । समयमै तटबन्धको काम नसकिएपछि आठ महिना म्याद थप गरिएको छ । अब निर्माण कम्पनीले फागुनसम्म तटबन्धको काम सक्नुपर्ने छ ।   

प्रमुख सुवेदीले राप्ती नदी तटबन्ध कार्यक्रम अन्तर्गत लमही नगरपालिका–४, बुट्कहवामा एक हजार ५० मिटर, गढवा गाउँपालिका–२, जेठानगाउँमा एक हजार ७५० मिटर, गढवा–५, तकियापुरमा दुई हजार मिटर, गढवा–४, हात्तीछाप कुलोमा दुई हजार पाँच सय मिटर, गढवा–१, कान्छीगाउँमा ७४१ मिटर तटबन्ध गर्ने काम सकिएको बताउनुभयो । उहाँका अनुसार गढवा गाउँपालिका–२ जेठानगाउँ र लमही नगरपालिका–४, बलरामपुरमा तटबन्धको काम भइरहेको छ । 

लमही नगरपालिका–६, मध्यनगरमा तटबन्ध गर्ने काममा स्थानीय समुदायको विवाद हुँदा काम सक्न समय लागेको बताउनुभयो । सुवेदीले भन्नुभयो, “राप्ती नदी तटबन्धन गर्ने काम अन्य ठाउँमा भइरहेको छ तर मध्यनगरमा जग्गा बिचनदीमा पर्ने भन्दै स्थानीयले विरोध गरेपछि काम हुन सकेको छैन ।” मध्यनगरमा डिपिआर अनुसार तटबन्धको काम गर्दा स्थानीयको जग्गा राप्ती नदीमा पर्ने भएको भन्दै विरोध गरेपछि तटबन्ध हुन सकेको छैन । 

कार्यालय प्रमुख सुवेदीका अनुसार वर्षाको समयमा राप्ती नदीबाट हुने डुबान र कटानलाई रोक्ने गरी हालसम्म राप्ती नदीमा २३.१४ किलोमिटर तटबन्ध गर्ने काम भएको छ । २३.१४ किलोमिटर तटबन्ध हुँदा देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिका अन्तर्गत २७२ हेक्टर जग्गा नदी उकासका रूपमा सुरक्षित भएको छ । 

डा. सुवेदीले तटबन्धको काममा केही समय ढुङ्गा अभावका कारण ढिलाइ भए पनि पछिल्लो समय राम्रोसँग भइरहेको भन्दै थपिएको म्यादमा तटबन्धको काम सकिने बताउनुभयो । एसियाली विकास बैङ्क (एडिबी) को ७२ करोड ३८ लाख रुपियाँमा भइरहेको तटबन्धको काममा हालसम्म ४५ करोड पाँच लाख रुपियाँ खर्च भएको छ । जनताको तटबन्ध कार्यालयले राप्ती नदी अन्तर्गत दाङ र बाँकेलाई कार्यक्षेत्र बनाएर राप्ती नदीमा तटबन्धको काम गर्दै आएको छ ।