• १८ असार २०८१, मङ्गलबार

खेलकुद मन्त्री अथक रुस प्रस्थान : रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना हस्ताक्षर हुने

blog

रुस जानुअघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र मन्त्रालयका सचिव डा.दामोदर रेग्मी । तस्बिर सौजन्य : युवा चता खेलकुद मन्त्रालय

काठमाडौं, जेठ ३० गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि सोमबार रुस प्रस्थान गर्नुभएको छ । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गर्नुभएको हो ।

पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसक्रममा “रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२/२०२३” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ । साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल हुनेछ ।

भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा नेपाल बक्सिङ संघका अध्यक्ष सहित आठ सदस्यीय नेपाली टोली रहेको छ । 

रुस जाने टोलीमा खेलकुद मन्त्री गहतराज र सचिव रेग्मीसँगै राष्ट्रिय खेलकुद परिषदको विभागिय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीको  निजी सचिव रोसन कुमार सुनार, बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र संघका प्रवक्ता श्यामकाजी अवाले रहनुभएको छ । नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिईएको छ ।