• ३० वैशाख २०८१, आइतबार

एन्फा अध्यक्षमा नेम्वाङको उम्मेदवारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ७ गते । नेपालको फुटबलमा आधुनिकीकरण र व्यावसायिकता हाम्रो प्रतिबद्धताको नारासहित पङ्कजविक्रम नेम्वाङले शुक्रबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता ग्राउनुभयो। उहाँको उम्मेदवारीमा झापा फुटबल क्लबका अध्यक्ष भागीरथ आले प्रस्तावक र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री समर्थकमा हुनुहुन्छ ।

नेम्वाङको हालको नेतृत्वले नेपाल फुटबलको विकास नगरेकाले उम्मेदवारी दिनुपरेको बताउनुभयो। उहाँले हाल एन्फामा आर्थिक नियमावली भए पनि आर्थिक अनियमितता चरणमा पुगेको भन्नुहुँदै चार वर्षअघि पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने नारासहित नेतृत्वमा आए पनि अहिले सोअनुसार काम नभएकाले सबैको सल्लाह सुझावमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो। नेम्वाङले आफूसँग ठूलाठूला होइन आफूले गर्न सक्ने सानासाना योजना भएको भन्नुहुँदै एन्फा सचिवालयलाई चुस्त दुरुस्त बनाउने, राष्ट्रिय लिगको सुरुआत गर्ने, काठमाडौँका क्लबहरूसँग समन्वय गरेर तीनै तहका सरकारसँग हातेमालो गरेर आर्टिफिसियलतर्फमा क्लबको प्रशिक्षणको व्यवस्था गर्ने, ग्रासरुट फुटबलको विकास गर्ने, उमेर समूहका कार्यक्रम व्यवस्थित गर्ने तथा ए, बी सी डिभजन लिग व्यवस्थित गर्ने योजनासहित आफूले उम्मेदवारी दिएको जानकारी दिनुभयो।

वरिष्ठ उपाध्यक्षमा वीरबहादुर महराले उम्मेदवारी दिनुभएको छ। उहाँ हाल उपाध्यक्षको भूमिकामा हुनुहुन्छ। उहाँले अध्यक्षको उम्मेदवारी दिनुहुने नेम्वाङलाई पूर्ण समर्थनसहित आफूले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिने घोषणा गर्नुभयो । नेम्वाङले अन्य पदको उम्मेदवारी भने आफ्नो प्यानलमा रहका सबैसँगको छलफलपछि घोषणा हुने बताइएको छ ।