• २५ चैत २०८२, बुधबार

बहुविवाह मुद्दामा फरार जोडी २९ वर्षपछि पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत २५ गते ।
बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भएर २९ वर्षबाट फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिरुवा गाउँपालिका–४ का ५२ वर्षीय उमाकान्त पोखरेल (हुमबहादुर थापा) र ४६ वर्षीया शारदा देवी पोखरेललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

उनीहरूविरुद्ध २०५३ वैशाख १९ गते बहुविवाह मुद्दा दर्ता भएको थियो भने स्याङ्जा जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गर्दै दुवै जनालाई दुई/दुई महिना कैद सजाय तोकेको थियो ।

सजायबाट बच्न दुवैले आफ्नो वास्तविक पहिचान लुकाउँदै लामो समय भारतमा बस्दै आएको र अनुसन्धानका क्रममा ‘लोकेसन’ पत्ता लगाएर पक्राउ गरिएको डीएसपी चौधरीले बताउनुभयो ।

पक्राउपछि अदालतले कैद भुक्तानका लागि दुवै जनालाई जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरीले जनाएको छ ।

टौवामा आगो लगाउने पक्राउ 
पुतलीबजार नगरपालिका–४ बेलघारीमा परालको टौवामा आगलागी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ का ३३ वर्षीय नविन न्यौपानेलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानका क्रममा आगो जानाजानी लगाइएको निष्कर्ष सहित न्यौपानेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

परालको टौवामा आगलागी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पक्राउ परेका न्यौपानेविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।