सर्लाही समाचारदाता
सर्लाही, वैशाख २० गते । सर्लाहीको लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको चुरेवर्ती क्षेत्रमा जाने खोलाको बाटो तेस्रो पटक बाढी आएर बगाएपछि स्थानीयले पुनः सास्ती पाएका छन् ।
शुक्रबार दिउँसोको भीषण वर्षापछि लखन्देखी, डाइनी, फूलजोर, कालिन्जोर र बाँकेखोलाको बाटो बगाएको हो । पानी नपर्दा यहाँको खोला बगरबाट बस सञ्चालन हुँदा स्थानीयवासीलाई लालबन्दी बजारसम्म बजार भर्न र औषधी उपचारका लागि आउन सहज हुने गरेको छ ।
शुक्रबारको बाढीले खोलाको बाटो पूर्ण रूपमा बगाएपछि शनिबार चुरे जाने बस सञ्चालन हुन नसकेको बस व्यवसायी एवं लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो । स्थानीय लालबन्दी बजारसम्म आउनुपर्दा गाडी चल्ने चुरेफेदीका गाउँसम्म पैदल नै आएका छन् ।
पानी पर्न रोकिएपछि शनिबार केही मोटरसाइकल र ट्याक्टर सञ्चालन भए पनि बस भने दुई/चार दिन सञ्चालन नहुने घिसिङले बताउनुभयो । मौसम पूर्ण रूपमा उघ्रिएर पानी पर्न रोकिएपछि खोलाको बाटो मर्मत गरेर पुनः बस सञ्चालन गरिने व्यवसायीले बताएका छन् ।
वैशाखमै बस चलाउन छाड्दा स्थानीयलाई सास्ती हुने भएकाले बर्खामास सुरु नहुन्जेल बाटो मर्मत गरेर बस सञ्चालन गरिने वडाध्यक्ष घिसिङको भनाइ छ । सिन्धुलीसँग सीमा जोडिएको सर्लाहीको चुरेवर्ती विकट क्षेत्रबाट गाडी चल्ने ठाउँ अर्थात् चुरेफेदीसम्म आउन तीन/चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
बाढी आएर खोलाको बाटो बिगार्दा मोटरसाइकल, एम्बुलेन्सलगायत कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा स्थानीयवासीलाई आपत्विपत् र आकस्मिक बिरामी पर्दा असाध्यै समस्या हुने गरेको छ । लालबन्दी नगरपालिका–१३, १४ र १५ तथा ईश्वरपुर नगरपालिका १२ को चुरेवर्ती क्षेत्र सडक सञ्जालमा जोडिएका छैनन् ।