काठमाडौँ, चैत २४ गते । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बैठकको निर्णय सार्वजनिक गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो जानकारी दिनुभएको हो ।
त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डाक्टर गुणाकर भट्टलाई नियुक्त गरेको छ भने राष्ट्र बैङ्क डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकका नौ निर्णय
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त,
नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त,
पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट,
बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैङ्कले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार,
ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरीमा स्थानान्तरण,
जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालयलाई पुल्चोकको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण,
समस्याग्रस्ता सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्य ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत,
पूर्वाधार विकासतर्फ नागढुङ्गा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेँसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न स्वीकृति,
काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रूख काट्न अनुमति दिने ।