• १९ वैशाख २०८३, शनिबार

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछः अर्थमन्त्री वाग्ले

blog

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले ।

काठमाडौँ, वैशाख १९ गते ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्नुभएको छ ।

बाह्रखरी मिडियाद्वारा आयोजित  कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने बताउनुभएको हो ।

सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी एक हजार पाँच  सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताउनुभयो ।

मन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताउनुभयो ।

नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै प्रमुख अस्त्र हुने उहाँको तर्क छ । सूचना प्रविधिलाई प्राथमिकता दिनैका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सन् २०२७ सम्मको चुनावी चक्र पर्खिरहेका थियौँ, तर ‘जेनजी’ आन्दोलनले हामीलाई समय अगावै जिम्मेवारी सुम्पिएको छ । अब हामी सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ । मैले विगत १२ वर्षदेखि भन्दै आएको ‘तौलरहित र दूरीरहित अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको छ । विगतमा नीतिगत कब्जा र भ्रष्ट राजनीतिज्ञसँगको अस्वस्थ सम्बन्धका कारण व्यावसायिक वातावरण धमिलिएको थियो। अब त्यो अन्त्य हुनेछ । कानून कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ, तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन । आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पत्तिको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ । हामी चाहन्छौँ कि निजी क्षेत्रले इमान्दारिताको जगमा उभिएर व्यवसाय विस्तार गरोस् र राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्‍याओस् ।”

निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताउनुभयो । मन्त्री वाग्लेले आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी तीन  हजार डलर पुर्‍याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पुर्‍याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

भारतले विगत १०–१२ वर्षमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उहाँको भनाइ छ ।कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार अमिताभ कान्त र पूर्व अर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताउनुभयो । 

उहाँले रुग्ण कानुनको खारेजी र प्रशासनिक झन्झटको अन्त्य नै आफ्नो पहिलो प्राथमिकता रहेको दोहोर्‍याउनुभयो ।