गोरखापत्र समाचारदाता
कामठाडौँ, वैशाख १९ गते । अरुपण आर्ट ग्यालरीमा कलाकार रीता खनालको “क्रोसेट एण्ड निटिङ” कला प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा कलाकार रीता खनालले आफ्नो मनका भावलाई सिर्जनात्मक लयमा कुरुस र विभिन्न रङ्गका उनका धागोबाट बुन्नुभएका कलात्मक सामाग्री प्रदर्शनीमा राखिएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले कलाकार रीता खनालले चित्रकलाको साथै क्रोसेट र निटिङसमेत गरेर ति सिर्जनाको प्रदर्शनीको आयोजना गरी अन्य कलाकारलाई प्रेरित गरेको बताउनुभयो । उहाँले कलाकार रमेश खनाल र रीता खनालको जोडीले शौख र लोकका लागि कला क्षेत्रबाट योगदान दिदै नयाँ पुस्तामा चित्रकलालगायतका कलासिल्पको हस्तान्तरणसमेत गरेको बताउनुभयो ।

सो अवसरमा प्रा.राधेश्याम मुल्मीले प्रदर्शनीमा राखिएका हरेक सामग्रीका विशेष डिजाइन निक्कै आकर्षक रहेको र यस्ता सिर्जनाले योग ध्यान गरे जत्तिकै एकाग्र बन्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । कलाकार रीता खनालले तीन कक्षा पढ्दादेखि साथीले बुनेको देखेर रुचि देखाएको बुन्ने कलालाई जीवनभर निरन्तरता दिँदा तयार भएका २७ वटा फरक डिजाइनका क्रोसेट र निटिङका सामग्री निक्कै आकर्षक छन् ।
उहाँले आफ्नो दैनिकीपछिका समयको सदुपयोग गरी बुनेका मोजा, पन्जा, सुइटरलगायतका सामग्री बालबच्चालाई लगाइ दिने पनि गरेको स्मरण गर्दै ६९ वर्षको उमेरमा ति विविध डिजाइनका सामग्री प्रदर्शनी गर्ने अवसरले निक्कै भावुक बनाएको बताउनुभयो । उहाँको यस प्रदर्शनीले महिलाले घरको कामपछि बाँकी रहेको समयमा क्रोसेट र निटिङको माध्यमबाट पनि सिर्जनामा आफ्नो भाव पोख्न सकिने उदाहरण पेस गरेको छ ।

अरुपण आर्ट ग्यालरीका संस्थापक कलाकार रमेश खनालले हरेक सिर्जनाले प्रदर्शनीका लागि ठाउँ पाउनुपर्नेमा जोड दिदै कला सिक्न उमेरले छेक्दैन, चित्रकला र क्रोसेट, निटिङ पनि सिक्न चाहनेका लागि पनि अरुपण आर्ट ग्यालरीले साथ दिने बताउनुभयो । यस प्रदर्शनी वैशाख ३० गतेसम्म चल्ने आयोजकले जानकारी दिनुभएको छ ।