राधा लुइटेल
फिदिम, वैशाख १९ गते । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ स्थित धुवाखोलामा विद्यार्थीलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले काठेपुल निर्माण गरिएको छ। स्थानीय युवा सङ्गठन वाइसिएलको अग्रसरता र सामुदायिक श्रमदानमार्फत उक्त पुल निर्माण गरिएको हो।
वाइसिएल फालेलुङ–७ जिल्ला कमिटीको अगुवाइमा सम्पन्न उक्त कार्यमा १५ जना युवाले लगातार ६ दिनसम्म श्रमदान गरेका थिए। पुल निर्माण कार्यमा कुल ९० जना जनशक्तिको सहभागिता रहेको बताइएको छ।
पुल निर्माणका लागि काठ, टिन लगायतका सामग्रीको व्यवस्थापन गरी करिब ९० हजार रुपैयाँ लागत लागेको कमिटीले जनाएको छ। कञ्चनजङ्घा सामुदायिक विकास संस्था, फालेलुङ–७ को आयोजनामा सम्पन्न उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फालेलुङको समन्वयमा सञ्चालन गरिएको थियो।
वाइसिएल पाँचथरका कार्यवाहक अध्यक्ष रामु त्रिखत्रीका अनुसार स्थानीय स्तरमै उपलब्ध स्रोत–साधन परिचालन गरी निर्माण गरिएको यस काठेपुलले विशेष गरी विद्यार्थीलाई विद्यालय जान र फर्कन ठुलो राहत मिल्नेछ। पुलमा फलामको छानो समेत राखिएको छ, जसले वर्षायाममा आउजाउलाई सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाले सामुदायिक एकता र श्रमदानको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै निर्माण गरेको यस पुलले गाउँका अन्य विकास निर्माणका कार्यमा समेत प्रेरणा मिल्ने विश्वास त्रिखत्रीले व्यक्त गर्नुभयो।