केशवराज भट्ट
वासुलिङ बैतडी, बैशाख १९ गते ।बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पहिलो चरणमा २० जनालाई लालपूर्जा प्रदान गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
गाउँपालिकाबाट प्रमाणीकरण भएका ५९ जना भूमिहीन सुकुम्बासीमध्ये प्रारम्भिक चरणमा २० जनालाई समेटेर वितरणको काम अगाडि बढाइएको हो ।
आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि लालपूर्जा हस्तान्तरण गरिनेछ ।जग्गा उपलब्ध गराउने तयारीसँगै सम्बन्धित क्षेत्रमा हकदाबी पेश गर्न सात दिनको सार्वजनिक सूचना जारी गरिएको छ ।
स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित तथा सुकुम्बासीका लागि नापजाँच गरिएको जग्गा पहिचान गरिएको हो ।प्रकाशित सूचनामा लाभग्राहीको नामसहित जग्गाको विवरण सार्वजनिक गरिएको छ । अब प्राप्त दाबीका आधारमा तीनपुस्ते विवरण सङ्कलन गरी मालपोत कार्यालयमार्फत उनीहरूको अन्यत्र जग्गा स्वामित्व नभएको सुनिश्चित गरिनेछ ।
यी सबै प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित लाभग्राहीलाई लालपूर्जा वितरण गरिने आयोगले जनाएको छ ।पञ्चेश्वर गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापनमा सक्रियता देखिएको छ ।
तर जिल्लाका अन्य स्थानीय तहमा प्रमाणीकरणको काम अघि नबढ्दा यस्तो प्रक्रिया सुरु हुन सकेको छैन ।हाल पञ्चेश्वरमा ५९ भूमिहीन परिवार र करिब चार सय अव्यवस्थित बसोवासी रहेका छन् ।
पञ्चेश्वरमा भूमिहीन सुकुम्बासीका लागि जग्गा नापजाँच कार्य अघि बढाउँदै भूमि समस्या समाधान आयोग बैतडी ।