अमरराज नहर्की
तनहुँ, चैत २५ गते । तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको काम तत्काल सुरु गर्न अर्थमन्त्री एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ । विगत १२ वर्षदेखि विभिन्न प्राविधिक कारण र डिजाइन परिवर्तनको विवादले अलपत्र परेको यो पुलको निर्माण कार्यलाई गति दिन उहाँले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई सचेत गराउनुभएको हो ।
अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय गौरवको आयोजना र स्थानीय पूर्वाधारमा ढिलासुस्ती सह्य नहुने बताउँदै बजेट र समन्वयको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँको निर्देशनलगत्तै सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गर्दै काम सुचारु गर्न निर्देशन दिएको छ ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठका अनुसार निर्माण व्यवसायीबाट पेस भएको ‘स्पेसिफिकेसन’ सहितको नयाँ डिजाइन तेस्रो पक्षका विज्ञबाट जाँच भई स्वीकृत भइसकेकाले अब काम रोक्नुपर्ने अवस्था छैन । वि.सं २०७० असार २८ गते सम्झौता भएको यस पुलको हालसम्म करिब ३६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
अर्थमन्त्रीको प्रत्यक्ष निगरानी र निर्देशनपछि अब भने निर्माणले गति लिने विश्वास स्थानीयले लिएका छन् । पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त थापामगरले अर्थमन्त्रीको चासोले स्थानीयमा आशा जगाएको बताउनुभयो । यो पुल नबन्दा देवघाट, आँबुखैरेनी र बन्दीपुरका बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।
पछिल्लो पटक वि.सं २०८३ असार मसान्तसम्मका लागि म्याद कायम गरिएको यस पुलको निर्माण जिम्मा मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको छ । दमौली पुग्न बुद्धसिंह मार्ग हुँदै घुमाउनेबाट जाँदा मुग्लिङ–आँबुखैरेनी सडकभन्दा करिब २३ किलोमिटर दूरी छोटो पर्छ । नारायणगढबाट पोखरातर्फ जाने सवारीका लागि यो मार्ग छिटो र वैकल्पिक मानिन्छ । १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने पुल १० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँ लागतमा कम्पनीले ठेक्का लिएको थियो । १०५ मिटर लम्बाइको यो पुल निर्माण सम्पन्न भएपछि पोखरा र दमौलीबाट नारायणगढसम्मको यात्रा २३ किलोमिटर छोटो हुनेछ ।
लामो समयदेखि काम अलपत्र परेपछि स्थानीयमा आक्रोश बढेको छ । बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष यमबहादुर आलेका अनुसार पुल नबन्दा क्षेत्रको आर्थिक–सामाजिक गतिविधि प्रभावित भएको छ । आलेले भन्नुभयो, ‘‘हामीले छिटो पुल बनाउ पटक पटक दबाब दिएका छौं तर सुनुवाइ भएको छैन ।’’