• २४ चैत २०८२, मङ्गलबार

‘स्वास्थ्य र शिक्षा क्षेत्रमा पहुँच विस्तार’

blog

विनय कर्ण 

कल्याणपुर (सप्तरी), चैत २४ गते । सप्तरीका प्रतिनिधि सभा सदस्य डा. अङ्किता ठाकुरले पारदर्शी शासनप्रणाली निर्माण, महिला र युवाको सशक्तीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रमा पहुँच विस्तार मुख्य एजेन्डा रहेको बताउनुभएको छ । सप्तरीको राजविराज नगरपालिका–५ निवासी डा. ठाकुर फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । 

सांसद डा. ठाकुरले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले महिला अधिकार र नेतृत्व विकास, युवा रोजगारी तथा उद्यमशीलता प्रवर्धन, शिक्षा क्षेत्रमा सुधार र अवसर विस्तार, सामाजिक न्याय, समावेशी विकास, स्थानीय तहमा सेवा पहुँच र सुशासनका मुद्दा सम्बोधनका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारदेखि सदनसम्म आफूले जनतासमक्ष गरेको यही प्रतिबद्धता पूरा गराउने प्रयासमा लागिरहने उहाँको भनाइ छ । 

सांसद डा. ठाकुरले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनु जरुरी छ, मेरो पहिलो प्राथमिकताको क्षेत्र पनि त्यही भएकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छु ।” डेन्टल सर्जनका रूपमा काम गर्दै आएकी ३१ वर्षीय डा. ठाकुर स्वास्थ्य सेवासँगै सामाजिक अभियन्ताका रूपमा चिनिनुहुन्छ । नोबेल डेन्टल क्लिनिकमा दन्त चिकित्सकका रूपमा चार वर्ष सेवा गरेकी उहाँ ‘महिला नेतृत्वको आवाज’ का रूपमा आफूलाई चिनाउन रुचाउनुहुन्छ । 

मिसेस नेपाल (विवाहित नेपाली महिला) कल्चर संस्करण सन् २०२३ मा फस्र्ट रनर अप र डाइनामिकको उपाधिसमेत जित्न सफल उहाँलाई राजनीतिमा भन्दा पनि सामाजिक र स्वास्थ्य क्षेत्रमा सेवा गर्ने अभिरुचि बढी छ । सात वर्षअघि डा. उज्ज्वल ठाकुरसँग उहाँको विवाह भयो । उहाँका एक छोरा हुनुहुन्छ ।

विवाहपछि मात्रै राजनीतिक परिवारसँग जोडिए पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिमा आउन बाध्य बनाएको उहाँ बताउनुहुन्छ । प्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँ एक वर्षदेखि आबद्ध हुनुभएको हो । डा. ठाकुरले भन्नुभयो, “कहिले राजनीतिमा आउनु पर्छ भन्ने सोचेको थिइनँ तर भदौ २३ र २४ गतेको परिवर्तनले राजनीतिमा आउन बाध्य बनाएको हो ।” मधेशका महिला पनि नेतृत्वमा आउनु पर्छ र त्यसका लागि नीति नियममा परिवर्तन ल्याउन आवश्यक अनुभूति भएकाले प्रत्यक्ष रूपमा राजनीतिसँग जोडिन पुगेको उहाँको तर्क छ ।