• २४ चैत २०८२, मङ्गलबार

राजमार्गकै पुल तेह्र वर्षदेखि अलपत्र

blog

राजु लामिछाने

रुकुमपश्चिम, चैत २४ गते । जिम्मेवार निकायको बेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङ्ग हुन्छ भन्ने उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरी नदीको पुल । रुकुमपश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो । 

मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा वाइपी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको यो पुल अझैसम्म निर्माण भएको छैन । सम्झौता भएको १३ वर्ष बित्दा पनि पुल निर्माणको काम अलपत्र छ । जसका कारण राष्ट्रिय गौरवको आयोजनामा पर्ने मध्यपहाडी राजमार्गको रुकुमपश्चिम र जाजरकोट खण्ड जोडिन पाएको छैन । चौरजहारी नगरपालिका–२, अँधेरेबाट जाजरकोटको भेरी नगरपालिका–१३, कुदु जोड्ने गरी भेरी नदीमाथि निर्माण थालिएको यो पुलको दुवैतर्फ आधार पिल्लर मात्रै खडा गरिएको छ ।  

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार उक्त पुल निर्माणका लागि नयाँ ठेक्काको तयारी भइरहेको छ । योजना कार्यालयका तर्फबाट साबिकको डिजाइनमा केही थप भएर स्वीकृतिका लागि सडक विभागमा पठाइएको र सम्भवतः यसै वर्ष टेन्डर आह्वान हुने उहाँले जनाउनुभयो । पुल निर्माण स्थलमा नदीको भाग पहिलाभन्दा बढेकाले आवश्यक तटबन्धसहितको डिजाइन तयार भएको छ । 

प्रथम पटक भएको ठेक्का सम्झौता रद्द गरेपछि दुई पटक टेन्डर आह्वान भएको तर ठेक्का लाग्न नसकेको उहाँले जनाउनुभयो । एक पटक बढी लागतको प्रस्ताव आउँदा सम्झौता हुन सकेको थिएन भने एक पटक कसैले पनि ठेक्काका लागि प्रस्ताव नगरेको कार्यालयले जनाएको छ । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको कामसमेत प्रभावित भएको छ भने मध्यपहाडी राजमार्गको रुकुमपश्चिम खण्डबाट जाजरकोट यातायातका साधन आउआउ गर्ने बाटोसमेत खुलेको छैन । 

प्रथम पटक ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले काम नगरेपछि सम्झौता भएको १० वर्षपछि २०७९ मङ्सिर २९ गते नै वाइपी कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का तोडिएको थियो । ठेक्का तोडिएसँगै ७२ लाख धरौटी र दुई करोड ६० लाख पेस्की रकम पनि जफत भएको थियो । यसका साथै सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार उक्त ठेकेदार कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिबाना तोकिएको थियो । १८ करोड लागत रहेको यो ठेक्कामा सम्झौता गर्ने वाइपी कन्स्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठको निधनपछि पुल निर्माणको काम अलपत्र रहेको बताइएको छ ।