• २४ चैत २०८२, मङ्गलबार

वडा नं. ११ लाई वडाव्यापी चेस उपाधि

blog

काठमाडौँ, चैत २४ गते । वडा नं. ११ ले सोमबार सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी र्‍यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेको छ ।

सङ्कटा मन्दिरको प्राङगणमा कामनपा वडा नं. २२ ले आयोजना गरेको सात चरणको दुई दिने प्रतियोगिताको दुई खुला तथा अनिवार्य एक महिला र एक यु–१६ का खेलाडीको टिमसहित हरेक वडाले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियन वडा नं. ११ ले सर्वाधिक १३ अङक बनायो । च्याम्पियन टिमले छ जित र एक बराबरीमा खेलेको थियो । सो टिममा एफएम क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी यु–१६ र राधिका पौडेल महिलाले प्रतिस्पर्धा गर्नुभएको थियो ।

पहिलो दिन वडा नं. ११ सँगै संयुक्त रूपमा शीर्ष स्थानमा रहेको आयोजक वडा नं. २२ को ए टिमले उपविजेता बन्यो । वडा नं.२२ ले सातमध्ये पाँचमा जित, एक बराबरी र एक हारमा खेल्यो ।

वडा नं. २२ टिम एबाट पहिलो बोर्डमा सिएम नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकाशचन्द्र नेपाल, तेस्रो बोर्डमा यु १६ का हार्दिक पन्त र चौथो बोर्डमा महिला खेलाडी पूजा भण्डारीले खेल्नुभएको थियो ।

वडा नं. २२ सरह ११ अङ्क बनाएको वडा नं. २३ ले तेस्रो स्थानमा चित्त बुझाउन बाध्यपशय भयो । पाँच जित, एक बराबरी र एक हारमै खेलेको वडा २३ प्रोग्रेसिभ अङ्कका आधारमा आयोजकको ए टिमभन्दा पछाडि परेको हो ।

वडा नं. २८ ले नौ अङ्क बनाएर चौथो स्थान प्राप्त गरी सान्त्वना पुरस्कार हात पार्‍याे । वडा २३ बाट प्रतिश श्रेष्ठ, कविन्द्र शिवाकोटी, शैलेन्द्र न्यौपाने र सुशीला गुरुङ तथा वडा नं.  २८ बाट सागर शाही, हर्षवर्धन राठी, सजल न्यौपाने र अन्जल श्रेष्ठले प्रतिस्पर्धा गर्नुभएको थियो ।

विजेता वडा ११ ले ट्रफीसहित ६० हजार, उपविजेता वडा २२ ए ले ४० हजार, तेस्रो हुने वडा २३ ले ३० हजा र सान्त्वना पुरस्कार प्राप्त गर्ने वडा २८ ले २० हजार रुपियाँ पुरस्कार पाए । 

प्रतियोगितामा व्यक्तिगत विधातर्फ एफएम क्षितिज पहिलो वोर्ड, प्रकाशचन्द्र नेपाल दोश्रो वोर्ड र यु–१६ का खेलाडी प्रवीर केसी तेस्रो बोर्ड र महिला खेलाडी वडा नं. ३१ नेलिशा ओझाले चौथो बोर्डमा सर्वश्रेष्ठ बनेर जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । 

यसैगरी १७०० रेटिङ मुनि वडा २० उत्कृष्ट भयो । नेपाल बुद्धिचाल महासङ्घको समन्वय र काठमाडौँ बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा स्विस लिगको आधारमा भएको प्रतियागितामा २९ टिमको सहभागिता रहेको थियो । 

वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायतले विजयी खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।