अस्मिता पोखरेल
धादिङबेँसी, चैत २५ गते । सफल उद्यमीका रूपमा परिचित धादिङकी वसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सहकोषाध्यक्षसमेत रहनुभएकी तामाङले आगामी दिनमा महिला हकहित, सशक्तीकरण र उद्यमशीलता प्रवर्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर नीतिगत तहमा काम गर्ने बताउनुभएको छ ।
२०२८ साल असार १५ गते रुबीभ्याली गाउँपालिका–४, बोराङमा जन्मनुभएकी तामाङ हाल तारकेश्वर नगरपालिका–९, मनमैजुमा बसोवास गर्दै आउनुभएको छ । प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको उहाँ लामो समयदेखि सामाजिक, आर्थिक तथा उद्यमशील क्षेत्रमा सक्रिय काम गर्दै आउनुभएको छ ।
तामाङले कृषि, पर्यटन, साना तथा घरेलु उद्योग प्रवर्धन, ‘एक वडा एक उद्योग’ अवधारणाको कार्यान्वयन तथा प्राकृतिक स्रोत व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने योजना सार्वजनिक गर्नुभएको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना गर्ने तथा आर्थिक सशक्तीकरणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य तामाङको रहेको छ ।
राजनीतिक यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय उहाँ २०७९ मङ्सिर ४ को निर्वाचनमा समानुपातिक सूचीबाट नाम फिर्ता लिएर धादिङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको थियो । निर्वाचनमा पराजित भएपछि निरन्तर पार्टी सङ्गठन विस्तार र सुदृढीकरणमा सक्रिय रहँदै आउनुभएकी उहाँको सामाजिक कार्यमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । प्राकृतिक विपत्का समयमा विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै कोभिड–१९ महामारीका बेला प्रभावित समुदायलाई सहयोग पु¥याउनुभएको थियो । महिला हिंसा तथा विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै उहाँले महिला सशक्तीकरण र उद्यमशीलता विकासमा महत्वपूर्ण पहल गर्नुभएको छ । प्रत्यक्ष रूपमा ७० भन्दा बढी महिलालाई रोजगारी प्रदान गर्नुका साथै अचार बनाउने तालिम सञ्चालन गरेर स्वरोजगारका अवसर सिर्जना गरेको उहाँ बताउनुहुन्छ ।
त्यस्तै टिम्मुर खेतीमा किसानलाई उत्प्रेरित गर्दै उत्पादनको ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन उहाँले खेलेको भूमिका महìवपूर्ण मानिन्छ । व्यावसायिक रूपमा ‘नेपाली मन उद्योग प्रा.लि.’ मार्फत विगत १७ वर्षदेखि अचार उत्पादन तथा बजारीकरणमा संलग्न रहनुभएकी तामाङका उत्पादन हाल विश्वका ५० भन्दा बढी देशमा निर्यात भइरहेका छन् । धर्म, संस्कृति संरक्षण तथा प्रवर्धनमा समेत सक्रिय तामाङले गुम्बा तथा स्तूप निर्माण, संरक्षण र प्रवर्धनमा योगदान दिँदै आउनुभएको छ । उहाँको बहुआयामिक अनुभव र सक्रियताले राष्ट्रिय राजनीतिमा थप ऊर्जा र नयाँ दृष्टिकोण ल्याएको छ ।