अनिल पराजुली
हेटौँडा, चैत २४ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ ।
बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता वैशाख १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने मङ्गलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतियोगितामा आयोजकसहित १० टोलीको सहभागिता रहने छ । सहभागी टोलीहरूमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लब, काठमाडौँको मछिन्द्र क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, फ्रेन्ड्स क्लब, प्लानिङ ब्वाइज युनाइटेड, मलेसियाको पेनाङ फुटबल क्लब, सर्लाहीको बागमती युथ क्लब, बाराको जीतपुर सिमरा क्लब र आयोजक टोली रहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले पाँच लाख रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । गतवर्ष सम्पन्न सातौँ संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको थियो ।
आठौँ संस्करण सञ्चालनका लागि करिब ७७ लाख ७३ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो ।