• २५ चैत २०८२, बुधबार

अवैध क्रसर बन्द गराउन ध्यानाकर्षण

blog

मकवानपुर समाचारदाता

मकवानपुर, चैत २५ गते । चुरे तथा वनजङ्गल क्षेत्रमा पछिल्लो समय बढ्दो अतिक्रमण हटाउन माग गरिएको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले चुरे वनजङ्गल क्षेत्रभित्र रहेका पुरानो र नयाँ अतिक्रमण हटाउनुपर्ने तथा अवैध क्रसर उद्योग बन्द गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । अभियानले बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमार्फत पठाइएको ध्यानाकर्षणपत्रमा वन तथा वातावरण मन्त्रालयमातहत रहेका राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति र चुरे उत्थानशील आयोजनाले हालसम्म गरेका कार्यको छानबिन गर्नुपर्ने माग गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाइएको ध्यानाकर्षणपत्रमा वातावरणीय क्षतिपूर्ति असुलउपर गर्ने व्यवस्था र चुरेभावर क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने माग गरिएको छ । अभियानका बागमती प्रदेश सहसंयोजक बुद्धिनाथ उप्रेतीले नयाँ राजनीतिक परिवेशसँगै जनतामा आशा जागेको भन्दै आफूहरूले उठाउँदै आएका माग तथा मुद्दामा नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह गरिएको बताउनुभयो । ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा डिभिजन वन कार्यालय तथा मध्यवर्ती क्षेत्रका हकमा सम्बन्धित क्षेत्रबाट नियमानुसार सञ्चालन गर्नुपर्ने भन्ने प्रावधान थप गर्न ध्यानाकर्षणपत्रमार्फत सुझाइएको छ । 

यस्तै देशका सम्पूर्ण नदीनालालाई प्रदूषण एवं अतिक्रमणमुक्त गरी प्रदूषण नियन्त्रण बोर्ड गठन गर्नुपर्ने माग गरिएको छ । तराई मधेशमा बर्सेनि हुने पानीको सङ्कटलाई दृष्टिगत गर्दै चुरे क्षेत्रबाट बग्ने नदीमा चेक ड्याम निर्माण र भित्री मधेशमा हरित कोरिडोर निर्माण गर्नुपर्ने पनि ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।