काठमाडौँ, चैत २४ गते । जापानको कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ ।
कम्पनीमार्फत यस्तो अवसर प्राप्त गर्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ । गुरुङलाई चार सेट कराते ड्रेस, एक थान ब्याग, चार थान सिन गार्ड, चार थान बेल्ट, चार जोड ग्लोब्स तथा पाँच थान टिसर्ट उपलब्ध गराइएको राष्ट्रिय कराते टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त सम्झौता दुई वर्षका लागि कायम रहने छ । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार, यस प्रकारको अन्तर्राष्ट्रिय सहयोगले खेलाडीको मनोबल उच्च बनाउने र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
मुख्य प्रशिक्षक श्रेष्ठले सुराई दो जस्तो विश्व चर्चित ब्रान्डले नेपाली खेलाडीलाई प्रायोजन गर्नु नेपाली कराते क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै यसले नेपाली खेलाडी प्रति अन्तर्राष्ट्रिय ब्रान्डहरूको चासो बढ्ने विश्वास गरिएको छ ।