• ७ जेठ २०८१, सोमबार

पौडीमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

blog

राष्ट्रिय पौडी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नासिर हुसैन । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २२ गते । नासिर याहया हुसैनले २४ औं राष्ट्रिय खुला तथा उमेरसमूह पौडी प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गर्नुभएको हो । नासिरले हिमा उक्त टाइमिङ निकाल्नुभएको हो । फाइनलमा भने नासिरको टाइमिङ २ मिनेट ०१.६० सेकेन्ड रह्यो । 

नेपाल पौडी संघले बुढापेस्टमा आगामी जुनमा आयोजना हुने १९औँ विश्व च्याम्पियनसिप र चीनमा हुने एसियाली खेलकुद (एसियाड) लाई समेत लक्षित गरी खुला तथा उमेर समूहको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गरेको हो । दुई दिने प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुषतर्फ आठ, महिलातर्फ आठ र दुई दुई जना ओलम्पियन गरी १८ जना खेलाडीलाई एसियाड लगायत प्रतियोगिताको प्रारम्भिक छनोटमा राखिने संघले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट पुरुष र महिला एक एक जना खेलाडीलाई विश्व च्याम्पियनसिपमा सहभागि गराईने संघले जनाएको छ । प्रत्येक विधामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो ।  प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गर्नुभएको थियो ।