काठमाडौँ, चैत ५ गते । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि रक्षा गरेको छ ।
पुलिसले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि चुमेको हो । आर्मी लगातार दोस्रो पटक उपविजेतामा सिमिति रह्यो । अघिल्लो संस्करणको फाइनलमा आर्मी पुलिससँग २८ रनले पराजित भएको थियो ।
फाइनलमा उपाधिका लागि आर्मीले दिएको दुई सय २७ रनको लक्ष्य पछ्याएको पुलिसले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पुलिसको जितमा रसिद खानले सर्वाधिक ८१ रन बनाउनुभयो ।
रसिदले एक सय २८ बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कुशल भुर्तेल ५१, ओपनर दिनेश खरेल २५ र कप्तान आरिफ शेख १४ रन बनाउनुभयो । ।
बलिङमा आर्मीका पवन कार्की र शाहब आलमले दुई दुई तथा आकाश चन्द, शाहब आलम र भीम सार्कीले एक एक विकेट लिनुभयो । पहिलो इनिङ बराबरीमा सकिएपछि दोस्रो पारीमा आर्मी दुई सय २६ रनको योगफल खडा गरेको थियो ।
आर्मीका लागि आकाश चन्दले सर्वाधिक ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ र भीम सार्की ३२ रन बनाउनुभयो । बलिङमा पुलिसका लागि सागर ढकालले चार तथा करण केसी र ललित राजवंशीले तीन तीन विकेट लिनुभयो । यसअघि पहिलो इनिङ्समा दुवै टोलीले समान दुई सय २१ रन बनाएपछि खेल बराबरी भएको थियो ।
गत फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनका कारण सारिएको थियो । दुई दिवसीय प्रतियोगिताको फाइनल खेल तीन दिवससीय ढाँचामा खेलाईएको हो ।
जय ट्रफीका गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेको आर्मी, पुलिस, एपिएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।