काठमाडौँ, चैत २ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एतजेएनबीएल) मा रोयलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६–७३ ले हरायो ।
रोयलले पहिलो क्वाटरमा १६–१२ र दोस्रो क्वाटरमा १८–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ३४–२६ को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा दुवैले २०–२० अङ्क जोडे । चौथो क्वाटरमा प्लेबक्सले उत्कृष्ट प्रदर्शन गर्दै २७–२२ ले आफ्नो पक्षमा पारेपनि जित पर्याप्त भएन ।
रोयलका अनिल अर्मजा पुनले सर्वाधिक २१ अङ्क बनाउनुभयो । उहाँ म्यान अफ दि म्याच घोषित हुनुभयो । यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार खेल्यो । सुरुवाती दुई खेल जितेर लयमा रहेको आर्मीलाई टाइम्स इन्टरनेसनल कलेजले ८०–६८ ले पराजित गरेको हो ।
नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा जारी लिगमा आठ टोलीको सहभागिता रहेको छ । डबल राउन्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछन् ।
लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबिच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबिच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबिच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेताले चार लाख रुपियाँ पुरस्कार पाउनेछ ।