• १२ चैत २०८२, बिहिबार

उत्तर कोरिया-बेलारुस सम्बन्ध नयाँ चरणमा

blog

सियोल, चैत १२ गते । पश्चिमी प्रतिबन्ध र भू-राजनीतिक दबाबबिच उत्तर कोरिया र बेलारुसले आफ्नो सम्बन्धलाई औपचारिक रूपमा नयाँ उचाइमा पुर्याएका छन् । दुई देशका नेताले ‘मित्रता र सहयोग’ सन्धिमा हस्ताक्षर गर्दै द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने सन्देश दिएका छन् । यसलाई बदलिँदो विश्व शक्ति सन्तुलनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्योङयाङमा भएको भेटवार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोलाई न्यानो स्वागत गर्नुभएको राज्य सञ्चार माध्यमले जनाएका छन् । लुकाशेन्कोको यो उत्तर कोरियाको पहिलो भ्रमण हो, जसलाई दुवै देशबिचको सम्बन्ध विस्तारको सङ्केतका रूपमा लिइएको छ । भेटका क्रममा लुकाशेन्कोले सोभियत युगदेखि कायम मित्रतालाई स्मरण गर्दै अहिलेको चरणलाई ‘नयाँ विकासको युग’ का रूपमा व्याख्या गर्नुभयो । 

उहाँले विश्वका प्रमुख शक्तिले अन्तर्राष्ट्रिय कानूनको बेवास्ता गरिरहेको आरोप लगाउँदै स्वतन्त्र राष्ट्रले अझ नजिक सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । यसअघि राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायरमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो, जहाँ तोप सलामी र सैनिक परेडमार्फत लुकाशेन्कोलाई सम्मान गरिएको थियो । भ्रमणका क्रममा उहाँले कुमसुसन प्यालेस अफ द सन पुगेर किम जोङ उनका पिता र हजुरबुबाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट पनि पुष्पगुच्छा अर्पण गर्नुभएको जनाइएको छ । यो सहकार्यलाई व्यापक रूपमा चीन र रुसले अघि बढाइरहेको ‘बहुध्रुवीय विश्व’ अवधारणासँग जोडेर हेरिएको छ । उत्तर कोरिया र बेलारुस दुवैले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै आएका छन् । बेलारुसले आफ्नो भूभागलाई आक्रमणका लागि प्रयोग गर्न दिएको छ भने उत्तर कोरियाले हजारौँ सैनिक, साथै हतियार र गोला–बारुद सहयोग गरेको पश्चिमी तथा दक्षिण कोरियाली गुप्तचर निकायले अनुमान गरेका छन् ।

यसअघि सन् २०२४ मा रुस र उत्तर कोरियाबीच भएको रणनीतिक साझेदारी सम्झौताले दुवै पक्षलाई आवश्यक परे सैन्य सहयोग गर्न बाध्य बनाएको छ । विश्लेषकका अनुसार यस सहकार्यबाट उत्तर कोरियाले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा र सैन्य प्रविधि प्राप्त गरिरहेको छ । यसले उसलाई चीनमाथिको निर्भरता घटाउन सहयोग पुर्याइरहेको छ ।

यसैबबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा बेलारुससँग सम्बन्ध सुधार गर्ने प्रयास गर्नु भएको छ । उहाँले प्रतिबन्ध केही खुकुलो बनाउँदै बेलारुसलाई आफ्नो ‘शान्ति पहल’ मा सहभागी गराउने सङ्केत दिनुभयो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक भेट गरिसक्नुभएको थियो र पुनः भेटघाटको सम्भावना पनि चर्चामा रहेको छ । यद्यपि हालको इरान सम्बन्धी तनावले त्यसमा ढिलाइ भएको बताइएको छ ।

बेलारुसका विदेशमन्त्री म्याक्सिम राइजेनकोभका अनुसार नयाँ सन्धिसँगै कृषि, औद्योगिक उत्पादन र व्यापारका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गरिनेछ । उहाँले विशेष रूपमा औषधि उत्पादन र खाद्यान्न आपूर्तिमा सहकार्यको सम्भावना औँल्याउनुभयो । साथै उत्तर कोरियाबाट कस्मेटिक उत्पादन आयात गर्ने विषयमा पनि चासो देखाइएको छ । विश्लेषक ली हो–रयुङका अनुसार यो भ्रमणको मुख्य उद्देश्य पश्चिमी प्रभावविरुद्ध उभिएका राष्ट्रबिच एकता प्रदर्शन गर्नु हो । उहाँका अनुसार किम जोङ उनले यस अवसरलाई आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्ने र वैकल्पिक शक्ति समूहलाई बलियो बनाउने प्रयासका रूपमा प्रयोग गर्नुभएको छ । रासस/एएफपी