अर्जुन कार्की
काठेखोला (बागलुङ), चैत १२ गते । कालिका कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न भएका छन्। चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार बागलुङ भलिबल ट्रेनिङ सेन्टर र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुआत गरेका हुन्।
बुधबार भएको पहिलो खेलमा बागलुङ भलिबल ट्रेनिङ सेन्टरले आदित्य होल्डिङ तित्याङलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो। पहिलो सेट २५–२३ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२० ले जितेको थियो। तेस्रो सेट २५–२० ले गुमाएपछि चौथो सेटमा पुनरागमन गर्दै ३१–२९ को संघर्षपूर्ण जित हात पार्यो। पाँचौं सेटमा भने बागलुङले १५–१० ले सहज जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।
त्यसैगरी, दोस्रो खेलमा घले हार्भेस्टिङ अस्ट्रेलियाले धौलागिरि मोबाइल पसल बेनीलाई ३–० को सोझो सेटमा पराजित गर्यो। अधिकांश नेपाल पुलिस क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी सम्मिलित घले हार्भेस्टिङको अगाडि धौलागिरि मोबाइल पसल बेनी निरीह देखियो। घले हार्भेस्टिङले पहिलो सेट २५–१२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–११ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो।
बिहीबार पहिलो खेल बिहान सिद्धार्थ चस्मा घर बागलुङ र भीमापोखरा खेलकुद विकास समिति तथा दोस्रो खेल गौंडाकोट र रायडाँडा खेलकुद विकास समिति (बानपा–११) बीच हुनेछ। समूह चरणका खेल सम्पन्न भएपछि क्वार्टरफाइनल चरण सञ्चालन हुने भलिबल प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले जानकारी दिनुभयो।
पुरुषतर्फ ८ समूहको सहभागिता रहेको र लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताका भलिबल संयोजक सचिन खड्काले बताउनुभयो। महिला भलिबलतर्फ ७ समूहको सहभागिता रहेको छ र सो प्रतियोगिता पनि लिग कम नकआउट प्रणालीमै सञ्चालन हुनेछ।
खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले १ लाख ५० हजार रुपियाँ तथा तृतीय हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडीलाई विधागत रूपमा जनही ५ हजार रुपियाँ प्रदान गरिनेछ।
महिला भलिबलतर्फ प्रथम हुनेले १ लाख रुपियाँ, द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा भइरहेको मेलामा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेका छन्। मेलाका अवसरमा छेलो प्रतियोगितासमेत आयोजना गरिएको छ। छेलो प्रतियोगितामा प्रथम हुनेले ३० हजार र द्वितीय हुनेले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
परापूर्वकालदेखि परम्परागत रूपमा सञ्चालन हुँदै आएको यो मेला हाल व्यवस्थित रूपमा आयोजना गर्दै विभिन्न प्रतियोगिता सञ्चालन गरिएको समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, रमाइलो मेला, बाल उद्यान तथा घरेलु एवं स्थानीय वस्तुको किनबेच आकर्षणका रूपमा रहेका छन्।