• १२ चैत २०८२, बिहिबार

संसदमा बादी समुदायको पहिलो प्रतिनिधि सीता

blog

ललित बसेल

सुर्खेत, चैत १२ गते । दलित समुदायभित्र पनि निकै पछाडि रहेको बादी समुदायले पहिलो पटक सङ्घीय संसद्मा प्रतिनिधित्व पाएको छ । हालै सम्पन्न निर्वाचनमा सुर्खेतमा जन्मिएकी सीता बादी पहिलो पटक सङ्घीय संसद्मा सांसद बन्नुभएको हो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सूचीबाट सांसद बन्नुभएको हो । 

विसं २०५२ भदौ २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, नयाँगाउँमा जन्मिएकी सीता उमेर बढ्दै गएपछि आफ्नो बाबुआमासँग नजिकैको झुप्राखोलामा सर्नुभयो । उहाँका बाबुआमाले सो खोलामा बालुवा चालेर बिक्री गरी दैनिकी चलाउने र केटाकेटी हुर्काउने गर्नुहुन्थ्यो । अधिकांश बादी समुदाय जस्तै उहाँहरूको पनि आफ्नो कहीँकतै जग्गाजमिन थिएन । बुवाआमासँगै उहाँले पनि झुप्राखोला र भेरी नदी किनारमा बालुवा चाल्नुभयो । नजिकै रहेको भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने स्थानमा उहाँले प्राथमिक तहको शिक्षा लिनुभयो । घरबाट विद्यालयमा पुग्न उहाँलाई दैनिक एक घण्टा जान र एक घण्टा आउन लाग्थ्यो । आफ्नो पढ्ने इच्छा भए पनि घरायसी अवस्था उहाँका लागि चुनौती बन्यो । 

१३ वर्षको उमेरमा काठमाडौँको एक संस्थाले पढाइदिने भनेपछि उहाँले सुर्खेत छोड्नुभयो । त्यसपछि पढाइका साथै आत्मसम्मानसाथ बाँच्न पाउने अधिकारका लागि उहाँ अग्रसर हुनुभयो । फागुन २१ को निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आफ्नो नाम पनि सूचीमा राखेपछि जनप्रतिनिधि भएर विशेष गरी आफ्नो समुदायको हितमा काम गर्ने उहाँको उत्कट चाहना बढ्दै गयो । पार्टीले करिब दुई तिहाइ बहुमत ल्याएपछि उहाँको नाम छुट्ने कुरै भएन । विगतमा थुप्रै अभाव, सङ्घर्ष, विभेद भोगेको सम्झँदै उहाँ भन्नुहुन्छ, “अझै पनि बादी समुदायको अवस्था उस्तै छ । त्यसैले आगामी दिनमा म संसद्मा त्यसविरुद्ध आवाज उठाउने छु ।” उहाँ नेपालमा महिला, त्यसमा पनि दलित महिला र अझ बादी समुदायका महिलाको अवस्था निकै नाजुक भएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “अधिकांश बादी समुदाय घरबारविहीन तथा भूमिहीन छन् । त्यो समुदायलाई हेर्ने समाजको नजर नै फरक छ । अब स्पष्ट नीति र कानुन बनाएर बादी समुदायलाई सम्मानपूर्वक बाँच्न सक्ने अवस्थामा ल्याउने योजनामा छु ।” त्यति मात्र होइन, उहाँ आबद्ध पार्टीको बहुमतको सरकार भएकाले पनि दलित र बादी समुदायको पक्षमा धेरै काम गर्न सकिने उहाँमा विश्वास छ । 

उहाँ आफूले बादी समुदायबाट पहिलो सांसद बन्ने अवसर पाएकोमा गर्व गर्दै यो अवसरलाई सम्झनयोग्य बनाउने गरी काम गर्ने अठोट व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अधिकांश बादी समुदाय भूमिहीन छन् । उनीहरूले जीवनयापनका लागि खोला किनारमा बसेर बालुवा चाल्नु पर्छ । कमजोर आर्थिक अवस्थाले बादी समुदायका बालबालिका राम्रो शिक्षादीक्षाबाट वञ्चित छन् । गरिबीका कारण स्वास्थ्य अवस्था कमजोर छ । पुख्र्यौली पेसा लोप हुँदै गएको छ । उहाँ भन्नुहुन्छ, “अबको संसद्मा यस्ता विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति र कानुन बनाएर यो समुदायको जीवनयापन सहज बनाउने मेरो अधिकतम प्रयास रहने छ ।”

सीता बाँच्नका लागि खोलाको बालुवा चाल्नेदेखि अहिले सङ्घीय सांसदको यात्रासम्म थुप्रै आरोह र अवरोह भोग्नु परेको बताउनुहुन्छ । 

उहाँसँग विगतमा विभिन्न सङ्घ संस्थामा काम गरेको अनुभव भए पनि संसदीय यात्रा आफ्ना लागि नयाँ भएकाले सिक्दै अगाडि बढ्ने उहाँको योजना छ । उहाँ भन्नुहुन्छ, “देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, सेवा प्रवाह सहज बनाउने, दलितलाई आत्मसम्मानसाथ बाँच्न सक्ने बनाउने, विशेष गरी बादी समुदायको चेतनास्तर र आर्थिक अवस्था बढाउनका लागि म निरन्तर पार्टीको सरकारलाई झकझक्याउने छु ।” उहाँ दलित अधिकार, महिला सशक्तीकरण, बाल संरक्षण, शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै अबको आफ्नो राजनीतिक यात्रा अगाडि बढ्ने बताउनुहुन्छ ।