• १२ चैत २०८२, बिहिबार

खेलकुद क्षेत्रको विकास प्राथमिकतामा

blog

शालिग्राम नेपाल

चितवन, चैत १२ गते  । खेल विज्ञानको प्रशिक्षक प्रशिक्षणमा रहँदै गर्दा उहाँले आफूले पढेको, बुझेको र काम गरेको क्षेत्रलगायतका समस्या नीति निर्माण तहमा पुगेर लागु गर्ने अठोट लिनुभएको थियो । उहाँको त्यो अठोट अहिले यथार्थमा परिणत भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट–२ बाट निर्वाचित भएसँगै डा. अचुतम लामिछाने अब कानुन बनाउने थलोमा पुग्नुभएको छ । 

आफूले जित हासिल गर्नुको कारणमा जनताले विषयविज्ञता र काम गर्न सक्ने उपयुक्त पात्र खोजिरहेको भन्ने मान्यता राख्नुहुन्छ उहाँ । “म यही क्षेत्रमा जन्मिएर हुर्केकाले यहाँको वातावरण र समस्या बुझ्न गाह्रो भएन । विषयविज्ञका नाताले केही गर्न सक्छ भनेर जनताले विश्वास गर्नुभएको छ,” उहाँ भन्नुहुन्छ, “राजधानी काठमाडौँसँग सिमाना जोडिएको नुवाकोट बत्तीमुनिको अँध्यारोबाट अब उज्यालोतर्फ लैजाने भूमिका मेरो हुने छ ।” 

नुवाकोट विदुर नगरपालिका–७, तुप्चेस्थित चण्डेश्वरी माविबाट विद्यालय तहको अध्ययन पूरा गरेका उहाँले काठमाडौँस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो । दक्षिण कोरियाको योङ्ग विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका उहाँले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तह र खेल विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । स्काउट, युनेस्कोको खेल विभागलगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका शिक्षा तथा खेलकुदका विभिन्न कार्यव्रmममा आबद्ध डा. लामिछानेले भन्नुभयो, “मेरो भोगाइ, सिकाइ, पढाइ र बुझाइलाई नीति निर्माण तहमा लगेर लागु गर्ने योजना छ ।” 

उहाँ भन्नुहुन्छ, “केही दशकअघिसम्म हाम्रो जस्तै आर्थिक अवस्था भएको दक्षिण कोरिया कसरी विकसित मुलुकमा परिणत भयो नजिकबाट देखेको छु ।” नुवाकोटको भूमिलाई विकास र समृद्धिको बाटोमा लैजान खाकासहित नयाँ दृष्टि र लक्ष्य लिएको उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “जनताको आयस्तर वृद्धि गर्न नीतिगत योजना ल्याउने, १० वर्षभित्र मध्यमस्तरको आयस्रोतको सुनिश्चित गर्ने लक्ष्य लिएको छु ।” उत्पादनलाई स्थानीय हँुदै अन्तर्राष्ट्रिय बजारसम्म लैजाने, श्रमको मूल्य पाउने वातावरण निर्माण गर्ने, सडक सञ्जाल नपुगेका स्थानमा पु-याउने गरी नीतिगत योजना निर्माण गर्ने उहाँको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रसँगै प्राथमिकताका आधारमा देशभरिका बस्तीसम्म पुग्ने गरी सडक सञ्जाल निर्माण गर्न भूमिका खेल्ने उहाँको योजना छ ।  जिल्लाका पर्यटकीय स्थानको विकासका लागि सडक तथा भौतिक पूर्वाधार निर्माण गरेर विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएका उहाँले पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नुवाकोटले दिने छ भन्नुभयो । 

कृषिलगायत अन्य क्षेत्रमा प्रविधिमैत्री विकास गर्दै प्रविधिको प्रयोगबाट आफ्नो कामलाई परिष्कृत गर्दै बजारमा लैजान र विश्वमा जानकारी गराउन सकिन्छ भन्ने अवस्था सिर्जना गर्ने गरी नीति निर्माण गर्ने पनि उहाँका प्राथमिकतामा छन् ।    

खेल विज्ञानका प्रशिक्षक प्रशिक्षणसमेत रहेका उहाँले खेल क्षेत्रलाई विकास गर्ने योजना राख्नुभएको छ । “खेलकुदले खेलाडी मात्र उत्पादन गर्दैन, यसले विदेशमा नेपाललाई चिनाउनसमेत भूमिका खेल्छ,” उहाँ भन्नुहुन्छ, “हामी खेल क्षेत्रका विकास र यसमा लगानी वृद्धि गर्ने गरी योजना निर्माण गर्ने छौँ ।” 

परम्परागत शैलीको किताबी ज्ञानभन्दा फरक तरिकाले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक एवं मनोवैज्ञानिक विकास गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “विद्यालयमा व्यावहारिक, प्रयोगात्मक र रियल वल्र्ड च्यालेन्जमार्फत शिक्षण सिकाइको उदाहरणीय तरिका अवलम्बन गरिनु पर्छ ।” नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गरेका लामिछानेले ३२ हजार ५४ मत पाउनुभएको थियो ।