• २३ वैशाख २०८१, आइतबार

बृहत् साझेदारीको मार्ग प्रशस्त, नेपाल–कतार उच्चस्तरीय भेटवार्ता

blog

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

काठमाडौँ, वैशाख १२ गते । कतार सरकारले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै बृहत् साझेदारीको मार्ग प्रशस्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच भएको भेटवार्तामा साझेदारीका पक्षहरूबारे छलफल भएको हो । त्यस सम्बन्धमा केही सम्झौता र समझदारी बुधबार हुँदै छन् । 

कतारका अमिर थानी दुईदिने भ्रमणका क्रममा नेपाल आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा राष्ट्रपति पौडेलले भव्य स्वागत गर्नुभयो । उहाँको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गर्नुका साथै २१ तोपको सलामी दिएको थियो । 

उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरूले पनि अमिर अल थानीको स्वागत गर्नुभयो । त्यसलगत्तै राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले नेपाल र कतारबिच रहेको सुमधुर सम्बन्ध, आपसी मित्रता, सम्मान, विश्वास र सद्भावमा आधारित रहेको जानकारी कतारका अमिरलाई गराउनुभयो । नेपाल र कतारबिचको उच्चस्तरीय भ्रमणको आदान प्रदानले सरकारबिचको आपसी सम्बन्ध र जनसम्बन्धको विकास तथा विस्तारमा योगदान पु¥याउने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो । 

नेपालको राजनीतिक रूपान्तरणका मुद्दा टुङ्गो लागेसँगै आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको जानकारी कतारका अमिरलाई गराउनुभयो । उहाँले भन्नुभयो, “नेपालको विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतार सरकारको सहयोग निरन्तर रहने विश्वास गरेको छु ।”

साथै उहाँले जलवायु परिवर्तनको साझा मुद्दामा नेपाल सजग रहेकाले पृथ्वीलाई सुरक्षित राख्ने, हिमालको संरक्षण गर्ने, सफा पानीको स्रोत जोगाउनेसँगै पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राखेर विश्वमै वातावरण संरक्षणमा भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “यी विषयमा सबैको सहकार्य जरुरी छ, यो मानव अस्तित्वको सुरक्षाको विषय भएकाले विशेष गरी विकसित मुलुकहरू बढी गम्भीर हुनु पर्छ ।” राष्ट्रपति पौडेलले विश्वको मध्यपूर्वी क्षेत्रमा उत्पन्न द्वन्द्वको वातावरणले नेपाल चिन्तित रहेको स्पष्ट पार्नुभयो । उहाँले ती क्षेत्रको तनाव अन्त्य तथा शान्ति पुनस्र्थापनाका लागि कतार सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

दुई देशबिच व्यापार, पर्यटन तथा ठुलो परियोजनामा लगानीको अवसरसँगै सहकार्यको सम्भावना प्रबल रहेकाले यो साझेदारी भविष्यमा थप घनीभूत हुने राष्ट्रपति पौडेलले वार्तामा बताउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता किरण पोखरेलले जानकारी दिनुभयो । 

तीन लाखभन्दा बढीको सङ्ख्यामा नेपाली नागरिक वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । नेपालीको योगदानका कारण नै त्यहाँको विकास तथा निर्माणको उचाइ बढेको स्मरण पनि राष्ट्रपति पौडेलले गराउनुभयो । उहाँले कतारका अमिर अल थानीको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै विश्वमै उच्च विकसित मुलुकका रूपमा कतारलाई उभ्याउन उहाँको दृष्टिकोणको सराहना गर्नुभयो । 

यसैबिच मङ्गलबार कतारका अमिरसहित कतार सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलको स्वागतमा राष्ट्रपति पौडेलले रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । रात्रिभोजमा विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । बुधबार अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता  हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।